मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

रोजगारी संकट : विगतका सरकारको उदासिनताले उद्योग बन्द, लाखौँ बेरोजगार

नेपालको रोजगारीको सम्भावना विगतमा बलियो भए पनि अहिले युवाहरू बेरोजगारीको चपेटामा परेका छन्। “खोइ युवाहरुलाई रोजगारी?” भन्दै एड्भोकेट नितिज्या ओलीले प्रश्न उठाउनु भएको छ।

उनका अनुसार नेपालमा आम जनतालाई रोजगारी दिने र अर्थतन्त्रलाई मजबुत बनाउने उद्देश्यले स्थापना गरिएका ठूला उद्योगहरू विगतका सरकारहरूको उदासिनताले बन्द भए। बाँसबारी छाला र जुत्ता कारखाना, हेटौंडा सिमेन्ट उद्योग लिमिटेड, जनकपुर चुरोट कारखाना, विराट रघुपति जुट मिल, हेटौंडा कपडा उद्योग, वीरगञ्ज सुगर मिल लगायतका उद्योगहरू विगतमा सुचारु रूपमा चलिरहेका भए पनि योजनाबद्ध ढंगले बन्द गरिएका कारण लाखौँ नेपालीले रोजगारी गुमाउनुपर्‍यो।

ओलीका भनाइमा, उद्योग बन्द भएपछि वैदेशिक रोजगारी नै मुख्य विकल्प बनेको छ र पछिल्ला वर्षमा हजारौँ नेपाली खाडी मुलुकसहित अन्य देशहरूमा काम गर्न बाध्य भएका छन्। “स्वदेशमै रोजगारी सिर्जना गर्नुको साटो सरकारले युवालाई विदेश पठाउने मात्र काम गरिरहेको छ,” एड्भोकेट ओलीले बताउनुभयो।

उहाँले थप्नु भयो – “राज्य सतलिप्सितामा मात्रै केन्द्रित भएर केही आसेपासेहरुलाई सामान्य जागिर दिने प्रवृत्तिले व्यापक असन्तोष जन्माएको छ। यसको असर युवा मात्र नभई वृद्ध, बुद्धिजीवी र श्रमिक वर्ग सबैमा देखिएको छ।”

एड्भोकेट ओलीले मुलुकको जीवनस्तर उकास्न तत्कालै पुराना उद्योगहरूको पुनःस्थापना र नयाँ रोजगारी सिर्जना गर्नुपर्ने आवश्यकता औंल्याउनु भएको छ। “यो आवाज मेरो मात्रै नभई आम नेपाली जनताको हो। यदि समयमा सम्बोधन भएन भने यसले मुलुकमा ठूलो राजनीतिक–सामाजिक असन्तुलन ल्याउन सक्छ,” उहाँको भनाइ छ।