मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अमेरिकामा ‘शटडाउन’ को असर : एकैदिन १ हजार ४ सयभन्दा बढी उडान रद्द

अमेरिकामा सङ्घीय सरकारको ‘शटडाउन’ (Government Shutdown) का कारण देशभर हवाई यातायातमा ठूलो अव्यवस्था सिर्जना भएको छ। बीबीसीका अनुसार, ‘शटडाउन’ का प्रभावले एकैदिन १ हजार ४ सयभन्दा बढी उडान रद्द भएका छन्।

सङ्घीय उड्डयन प्रशासन (एफएए) ले वायुसेवा कम्पनीहरूलाई उडान कटौती गर्न निर्देशन दिएपछि आन्तरिक र अन्तर्राष्ट्रिय दुबै उडानहरू प्रभावित भएका हुन्। फ्लाइट ट्र्याकर ‘फ्लाइटअवेयर’ का अनुसार, हिजो मात्रै ६ हजारभन्दा बढी उडान ढिलाइ भएका थिए, भने त्यसअघिल्लो शुक्रबार ७ हजारभन्दा बढी उडान प्रभावित भएका थिए।

एफएएले यस हप्ताको सुरुवातमै देशका ४० व्यस्त विमानस्थलमा १० प्रतिशतसम्म उडान कटौती गर्ने निर्णय गरेको थियो। एअर ट्राफिक कन्ट्रोलरहरू तलबविनै काम गर्न बाध्य भएका कारण हवाई सेवामा ठूलो अवरोध आएको बताइन्छ। धेरै कन्ट्रोलरहरूले बिरामी बिदा लिने वा अन्यत्र रोजगारी खोज्ने गरेको विवरण सार्वजनिक भएको छ।

अमेरिकी इतिहासकै सबैभन्दा लामो ‘शटडाउन’ का कारण अहिले लाखौँ सङ्घीय कर्मचारी विना तलब काम गर्न बाध्य भएका छन्।

सिनेटबाट बजेट पारित गर्ने प्रयास असफल भएपछि अमेरिकामा यो ‘गभर्नमेन्ट शटडाउन’ सुरु भएको हो, जसका कारण धेरै सरकारी कार्यालय र सेवाहरू अस्थायी रूपमा बन्द भएका छन्।