काठमाडौं । देशभर केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । एक\दुई दिन अझै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन्
हिमाली र उच्च पहाडी क्षेत्रको तापक्रम माइनसबाट पनि ओरालो लागेको छ । जुम्ला, जोमसोम, जिरी लगायतका ठाउँको तापक्रम माइनसभन्दा पनि कम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु ठाउँमा पनि चिसो बढेको छ ।
हिमाली क्षेत्रका केही ठाउँमा हिमपात भएको छ भने तराई मधेसका धेरै ठाउँमा दिउँसो पनि घाम देखिन छोडेको छ । काठमाडौं उपत्यका र पहाडी क्षेत्रमा पनि राम्रोसँग घाम लाग्न सकेको छैन । चिसोसँगै प्रदूषण पनि बढेको छ ।
बिहान र बेलुका चिसो अझै बढ्दा वृद्धवृद्धा, बालबालिका, दीर्घरोगी, सुत्केरी लगायतलाई समस्या भएको छ । चिसोकै कारण कतिपय विद्यालय बन्द भएका छन् । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १ को पहाडी भेगका एक, दुई ठाउँमा हल्का पानी पर्ने सम्भावना छ ।
साथै प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
