मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

देश छोडेर नभाग्ने अध्यक्ष ओलीको स्पष्टता

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू देश छाडेर नभाग्ने स्पष्ट बताएका छन्।

शुक्रबार काठमाडौंमा एमाले शिक्षा तथा मानवस्रोत विभागद्वारा आयोजित ‘केपी ओलीसँग अन्तरसंवाद’ कार्यक्रममा उनले हालको सरकारलाई “फेद न टुप्पोको आकाशबेली सरकार” भन्दै आलोचना गरे।

ओलीले भने, “अहिलेको सरकार जरा पनि छैन, हाँगा पनि छैन। एउटा पहेंलो लहरो जस्तै आकाशबेली सरकार हो—कहाँबाट पलायो, कहाँबाट टाँस्यो थाहा छैन। यही सरकारले हामीजस्ता कमिटमेन्ट भएका मानिसको पासपोर्ट रोक्का गर्छ। के काम गर्छ यस्तो सरकारले?”

अध्यक्ष ओलीले आफू कुनै हालतमा देश छोडेर नभाग्ने दृढता व्यक्त गरे।
उनका शब्दमा, “केपी ओली भागेर जान्छ? मर्न परे पनि यस देशमै मर्छु। सुकरात भागेनन्, म किन भागूँ? अहिलेको सरकारले आफूजस्तै सोचेर पासपोर्ट रोक्का गरेको होला, तर म यहाँकै माटोमा छु।”

ओलीले हालको सरकारले “गैरजिम्मेवार र असंवैधानिक” व्यवहार देखाएको आरोप समेत लगाए। उनले भने, “यो हाहुमा बनेको, कसैप्रति जिम्मेवार नभएको अनुत्तरदायी सरकारलाई देश सुम्पिएर केपी ओली भागेर जान्छ भन्ने सोचना नै गलत हो।”

कार्यक्रममा ओलीले समसामयिक राजनीतिक घटनाक्रमबारे पनि टिप्पणी गर्दै देशभक्तिपूर्ण प्रतिबद्धता दोहोर्‍याए।