रुपन्देही–३ को उपचुनावका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ९ जना आकांक्षीबीच प्राइमरी इलेक्सन सुरु गरेको छ। बिहीबार बिहान ७ बजेबाट खुलेको भोटिङ शुक्रबार (२२ भदौ) साँझ ७ बजेसम्म चल्नेछ। पार्टीको मोबाइल एपमार्फत अनलाइन मतदान गर्न सकिने व्यवस्था गरिएको छ।
रास्वपाका सहमहामन्त्री विपिनकुमार आचार्यका अनुसार प्राइमरी इलेक्सनमा उम्मेदवार छनोटका लागि सबैभन्दा बढी ५० अंकको भार दिइएको छ। यसअघि सम्पन्न राजनीतिक निकटता (२० अंक) र लिडरसिप एकेडेमी (२५ अंक) मूल्याङ्कन, साथै समावेशिताका लागि छुट्याइएको ५ अंकसमेत जोडेर अन्तिम परिणाम तयार हुनेछ।
रुपन्देही–३ मा करिब २ हजार ८०० पार्टी सदस्य छन्। उनीहरूसँगै क्षेत्रीय तहका समिति सदस्य र केन्द्रीय समिति सदस्यहरूले पनि मतदान गर्न पाउनेछन्। यसमा पार्टी सदस्यको मतदानको ८० अंक, क्षेत्रीय तहको १० अंक र केन्द्रीय समिति सदस्यको १० अंकभार हुनेछ।
यस पटकको ‘प्राइमरी इलेक्सन’लाई पार्टीले डिजिटल लोकतन्त्रको अभ्यासका रूपमा पाइलट प्रोजेक्टका रूपमा सुरु गरेको जनाएको छ। परिणाम १५ भदौमा सार्वजनिक गर्ने तयारी छ।
उम्मेदवारमा पार्टी केन्द्रीय सदस्य कुसुम महर्जन, क्षेत्रीय सभापति मधु अर्याल, अमेरिकाबाट फर्किएका सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, डा. लेखजंग थापा, ज्ञानु पौडेल, जीतबहादुर गुप्ता, रचना क्षेत्री र पुनम अग्रवाल रहेका छन्।
रुपन्देही–३ मा उपचुनाव १७ कात्तिकमा हुँदैछ। यसअघि २०७९ को आमचुनावमा रास्वपा समानुपातिकतर्फ १४ हजारभन्दा बढी मतसहित तेस्रो ठूलो शक्ति बनेको थियो।
यसै क्षेत्रमा अन्य दल र स्वतन्त्र आकांक्षीले पनि तयारी तीव्र पारेका छन्। एमाले, राप्रपा र जनमत पार्टीले नाम सिफारिस गरिसकेका छन् भने कांग्रेसले अझै औपचारिक निर्णय गरेको छैन।