हराएकी ममता काफ्लेको हत्या मुद्दामा नयाँ खुलासा: श्रीमतीको नाममा थिएन घर, छिमेकीले अदालतमा खोले रहस्य

अमेरिकामा नेपाली मूलकी ममता काफ्लेको हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टविरुद्ध चलिरहेको मुद्दाको सुनुवाइका क्रममा नयाँ तथ्यहरू सार्वजनिक भएका छन्। अदालतमा बयान दिएका छिमेकीहरूले ममता हराउनुअघि नरेशले आफ्नो वैवाहिक सम्बन्धप्रति असन्तुष्टि व्यक्त गर्ने गरेको बताएका छन्।

४९ वर्षीय नरेश भट्टमाथि २८ वर्षीया पत्नी ममता काफ्लेको हत्या तथा शवलाई विकृत बनाएको अभियोग लागेको छ। उनले भने आफू निर्दोष रहेको दाबी गर्दै आएका छन्। अभियोजन पक्षका अनुसार सन् २०२४ जुलाई ३० मा आफ्नै घरमा ममताको हत्या गरिएको थियो। तर उनी हराएको जानकारी केही दिनपछि मात्र उनका सहकर्मीहरूले प्रहरीलाई दिएका थिए।

ममता हराएपछि प्रहरीसँगको कुराकानीमा नरेशले आफूलाई उनको अवस्थाबारे थाहा नभएको बताएका थिए। ममता आफैँ घर छाडेर गएको हुन सक्ने र टेक्सास वा न्युयोर्क पुगेको हुन सक्ने उनको भनाइ थियो।

तर अदालतमा बयान दिएका छिमेकी केभिन फेनेलका अनुसार ममताका लागि ती स्थानमा पुग्न सहज थिएन, किनकि उनी आफैँ गाडी चलाउँदिनथिन्। फेनेलले नरेशसँग भएको कुराकानी सम्झँदै ममताले कहिल्यै आफ्नै कार नराख्ने कुरा उनले बताएको उल्लेख गरे।

घरको स्वामित्वमा पनि ममताको नाम थिएन

सुनुवाइका क्रममा अर्को महत्वपूर्ण तथ्य पनि सार्वजनिक भएको छ। फेनेलले नरेशलाई बेचेको मानासस पार्कस्थित घरको खरिद सम्झौता र आधिकारिक स्वामित्व कागजातमा ममताको नाम नरहेको उनले अदालतमा बताए। घरको एकमात्र मालिकका रूपमा नरेश भट्टको नाम उल्लेख थियो।

ममता हराएपछि आफूले नरेशलाई सहयोगको प्रस्ताव गरेको फेनेलले बताए। सन् २०२४ अगस्ट ९ मा उनी नरेशको घर पुगेका थिए। त्यहाँ घरको अवस्था सामान्य र केही अव्यवस्थित मात्र देखिएको उनको बयान थियो।

ममता हराएपछि मास्क लगाएर देखिएका थिए नरेश

अर्की छिमेकी क्रिस्टिन शुल्ज–स्टोनले अगस्ट १ को बिहान नरेशलाई आफ्नै घरबाहिर मास्क लगाएर उभिएको देखेको अदालतमा बताइन्। अघिल्ला दिनमा मास्क नलगाएका नरेश अचानक मास्कमा देखिँदा आफूलाई असामान्य लागेको उनको भनाइ थियो। त्यसबेला नरेश आफ्नो घरमा काम गरिरहेका ल्यान्डस्केपिङ कामदारहरूलाई हेरिरहेका थिए।

कामदारलाई दिए हत्या अनुसन्धानसँग जोडिएको आरा

यसअघि बयान दिएका कामदार जोसे आयालाले नरेशले आफूलाई एउटा आरा दिएको बताएका थिए। नरेशले उक्त आराले सानो रूखको मुढा काट्न खोज्दा असामान्य तरिकाले प्रयोग गरिरहेको देखेपछि आफूले चलाउने तरिका सिकाएको आयालाको भनाइ थियो।

त्यसपछि नरेशले सो दिनको ज्यालाको सट्टा उक्त आरा दिन प्रस्ताव गरेको र आफूले स्वीकार गरेको उनले बताए। अनुसन्धानकर्ताहरूले उक्त आरालाई ममताको शव टुक्राटुक्रा पार्न प्रयोग गरिएको हुन सक्ने प्रमाणका रूपमा अदालतमा प्रस्तुत गरेका छन्।

ममता काफ्ले हत्या प्रकरणमा छिमेकी र कामदारका बयानसँगै विभिन्न भौतिक प्रमाणहरू पनि अदालतमा प्रस्तुत भइरहेका छन्। यद्यपि, नरेश भट्टमाथिका आरोपहरू अदालतबाट प्रमाणित हुन बाँकी छन्। मुद्दाको अन्तिम फैसला आउन बाँकी रहेको छ।