मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कोसीको प्रदेशसभा बैठक आज बस्दै

विराटनगर : कोसी प्रदेशको प्रदेशसभा बैठक आज (शुक्रबार) बस्दै छ । प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ । 

बैठकमा सभामुख बाबुराम गौतमले दिएको राजीनामा पत्रको जानकारी गराउने र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गठन तथा प्रदेश मन्त्रिपरिषद् विस्तार सम्बन्धी पत्र वाचन गर्ने कार्यसूची छ । 

पहिलो बैठकबाटै आर्थिक वर्ष २०८०/०८१ को बजेट अध्यादेश सम्बन्धी छलफल प्रारम्भ हुनेछ । तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने प्रक्रिया सकिएपछि गत असार १५ गते बैठक अनिश्चितकालका लागि स्थगित गरिएको थियो । कार्की नेतृत्वको सरकारले ल्याएको आर्थिक र विनियोजन अध्यादेश स्वीकार गर्ने सहमति बिहीबारको कार्यव्यवस्था परामर्श समितिको बैठकमा भएको थियो । 

विश्वासको मतका लागि काँग्रेसको आग्रह 

नेपाली काँग्रेस कोसी प्रदेश संसदीय दलले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिन सबै राजनीतिक दलसमक्ष आग्रह गरेको छ । पार्टीको प्रदेश संसदीय दलका प्रमुख सचेतक भूपेन्द्र राईका अनुसार भदौ १४ गतेभित्र मुख्यमन्त्री थापाले विश्वासको मत लिइसक्नुपर्छ । विश्वासको मतका लागि सबै दलहरुसँग आग्रह गरिएको उनले बताए । 

प्रदेशलाई स्थिर राखेको सन्देश दिनपनि दलहरुले विश्वासको मत दिनेमा काँग्रेस विश्वस्त रहेको प्रमुख राईको भनाइ छ । ‘प्रदेशमा अहिलेपनि बहुमतकै आधारमा सरकार गठन भएको छ । प्रदेशलाई अझ बलियो र सशक्त बनाउन सबै दल मिलेर अघि बढ्नुको विकल्प छैन । हामी निर्धारित मितिभित्रै विश्वासको मत लिनेछौं । विश्वासको मतका लागि सबै दललाई आग्रह गरिएको छ,’ उनले भने । 

विश्वासको मतका लागि शुक्रबार केही खाका आउने राईले बताए । ‘आजको प्रदेशसभा बैठकमा शून्य र विशेष समयमा प्रदेशसभा सदस्यहरुले आआफ्नो धारणा राख्नु हुने छ,’ उनले भने, ‘अघिल्लो सरकारले ल्याएको आर्थिक तथा विनियोजन अध्यादेशमा छलफल हुने छ ।’ अध्यादेश अस्वीकार गर्ने सम्बन्धी दर्ता भएको सूचना फिर्ता लिने र आध्यादेश पारित गर्ने विषयमा सहमति भइसकेको राईले बताए ।