ऊर्जामन्त्री कुलमान घिसिङ र नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक मनोज सिलवालले भारतीय कम्पनी पीटीसी इन्डियासँग विद्युत् खरिद सम्झौता गर्ने क्रममा ४३ करोड रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै ‘जेनजी मुभमेन्ट’ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गराएको छ। जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहका अनुसार बुधबार उनीहरूले घिसिङ, सिलवाल तथा विद्युत् नियमन आयोगविरुद्ध उजुरी दर्ता गरेका हुन्।
संगठनले निवेदनमार्फत विगतमा पनि ऊर्जामन्त्री र प्राधिकरण नेतृत्वविरुद्ध भ्रष्टाचारका उजुरी परेको तर अख्तियारका केही आयुक्तहरूको प्रभावमा अनुसन्धान अघि नबढेको दाबी गरेको छ। नयाँ विद्युत् आयात सम्झौता ‘सेटिङ’मार्फत भएको र त्यसबाट ४३ करोड रुपैयाँ बराबरको गडबडी भएको आरोप लगाउँदै जेनजी मुभमेन्टले छानबिनको माग गरेको छ।
उक्त विषयमा अनलाइनखबरलगायत सञ्चारमाध्यमले निरन्तर समाचार प्रकाशित गरिरहे पनि अख्तियार मौन बसिरहेको दाबी पनि संगठनले गरेको छ। जेनजी मुभमेन्टले अख्तियारले निष्पक्षरूपमा छानबिन अघि बढाउनुपर्ने आग्रह गरेको छ।
अख्तियारले भने उजुरीबारे औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन।
