राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार बाराको सिमरा विमानस्थलमा भएको घटनालाई संवेदनशील भन्दै सरकारको ध्यानाकर्षण गराएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय कमिटी बैठकले घटना प्रति गम्भीर चासो व्यक्त गर्दै आगामी चुनावी माहोललाई सुरक्षित र सहज बनाउन सरकारले आवश्यक कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ।
पार्टी प्रवक्ता मनिष झाले जानकारी दिँदै भने, “निर्वाचनको वातावरण बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम गर्न पाउनुपर्छ र सरकारले पर्याप्त सुरक्षा दिनुपर्छ।” उनले सिमरामा भएको घटनाले राजनीतिक गतिविधिमा प्रभाव पार्ने भएकाले सरकारले तुरुन्त ध्यान दिनुपर्ने बताए।
“आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार छ र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं,” झाले बैठकको निष्कर्ष सार्वजनिक गर्दै भने।
