मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मेची भन्सारमार्फत दुई महिनामा अलैँची निर्यात ४३.९० प्रतिशतले वृद्धि

मेची भन्सार कार्यालयमार्फत चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा अलैँची निर्यात ४३.९० प्रतिशतले बढेको छ। कार्यालयका तथ्याङ्कअनुसार यस अवधिमा ८५ करोड ९६ लाख ११ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको हो।

मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार गएको दुई महिनामा ५२२ मेट्रिक टन अलैँची निर्यात गरिएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा भने ५९ करोड ७३ लाख ५२ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको थियो।

तर, सोही अवधिमा चियाको निर्यात भने ३४ प्रतिशतले घटेको छ। चालू आर्थिक वर्षका दुई महिनामा ७५ करोड तीन लाख ४८ हजार रुपैयाँ बराबरको चिया निर्यात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम एक अर्ब १३ करोड ७४ लाख आठ हजार रुपैयाँ थियो।

भन्सार कार्यालयका अनुसार निर्यात हुने अन्य मुख्य वस्तुहरूमा छुर्पी ९८.३० प्रतिशत, काउली, ब्रोकाउली र बन्दागोभी १५५.२० प्रतिशत, भेनियर सिट ७४ प्रतिशत र मुसुरो दाल ६५५.१० प्रतिशतले वृद्धि भएको छ। तर फलामे पाता ९३.४० प्रतिशत, अदुवा ४१.८० प्रतिशत र अम्रिसो ३०.१० प्रतिशतले कमी आएको छ।

चालू आर्थिक वर्षको पहिलो दुई महिनामा मेची भन्सारमार्फत तीन अर्ब ६ करोड ३७ लाख ३९ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको कार्यालयले जनाएको छ।