मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

अन्तर्घातका कारण २१ क्षेत्रमा पराजय : नेपाली कांग्रेसको निष्कर्ष

नेपाली कांग्रेस ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन मा कम्तीमा २१ वटा निर्वाचन क्षेत्रमा पार्टीभित्रकै अन्तर्घातका कारण पराजय भोग्नुपरेको निष्कर्ष निकालेको छ।

पार्टीको जारी केन्द्रीय समितिको बैठकमा भएको निर्वाचन समीक्षाबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसे ले ५ देखि ३ हजारभन्दा कम मतान्तरले हारिएका क्षेत्रहरूमा मुख्यत: आन्तरिक कारण जिम्मेवार देखिएको बताए।

उनका अनुसार ३ हजारदेखि ५ हजारसम्मको मतान्तरले पराजित भएका क्षेत्रमा आन्तरिक मतभिन्नतासँगै निर्वाचन अभियानमै कमजोरी देखिएको छ। त्यस्तै ५ हजारदेखि १० हजारसम्मको ठूलो मतान्तरमा हार भएका क्षेत्रमा अन्तर्घात, कमजोर चुनावी क्याम्पेन तथा प्रतिकूल ‘न्यारेटिभ’ले पार्टीलाई रक्षात्मक बनाएको निष्कर्ष निकालिएको छ।

प्रवक्ता चालिसेले पार्टीको परम्परागत मत कत्तिको स्थानान्तरण (माइग्रेशन) भयो भन्ने विषयमा गहन छलफल भइरहेको जानकारी दिए। “यो केवल भोटको माइग्रेशन हो वा मतदाताको सोच (माइन्डसेट) नै परिवर्तन भएको हो भन्ने विषयलाई हामीले गम्भीर रूपमा लिएका छौं,” उनले भने, “३ हजारभन्दा कम मतान्तरले पराजित भएका करिब २०/२१ निर्वाचन क्षेत्रहरूमा आन्तरिक कारण प्रमुख देखिएको छ।”

उनले केही क्षेत्रमा संगठनात्मक कमजोरी मात्र नभई मतदाताको कांग्रेसप्रतिको विश्वासमा पनि कमी आएको संकेत देखिएको बताए। करिब ८ लाख ५० हजारभन्दा बढी क्रियाशील सदस्य रहेको पार्टीले अपेक्षित मत प्राप्त गर्न नसक्नु गम्भीर प्रश्नका रूपमा उठेको उनको भनाइ छ।

केन्द्रीय समितिको जारी बैठकमा मुख्य रूपमा निर्वाचन समीक्षा र सभापतिको राजीनामा सम्बन्धी विषयमा केन्द्रित भएर छलफल भइरहेको जनाइएको छ। बैठकले पार्टीलाई पुनः सशक्त बनाएर जनतामाझ लैजाने कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ।