गुल्मी । १५ वर्षीया बालिका मनीषा चुँदालीको हत्या प्रकरणपछि गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरस्थित मदरसा सधैका लागि बन्द गरिएको छ । मुस्लिम समुदायका नागरिकको आह्वानबमोजिम गाउँपालिकाले सोही समुदायकै नागरिकले नमाज पढ्ने ठाउँ मदरसाको अनुमति रद्द गरेको हो ।
चार वर्ष अगाडिदेखि सञ्चालनमा आएको मुस्लिमहरूको धार्मिक विद्यालय मदरसा गुल्सने मदिनामा पाका ठूला उमेरका नागरिकले सातामा एक दिन एवं साना बालबालिकाले दैनिक रूपमा बिहानमा नमाज पढ्ने गरेका थिए ।
मदरसामा दैनिक १५-१६ जना बालबालिकाले नमाज पढ्ने स्थानीय कमल खत्रीले जानकारी दिए । तर, सोही मदरसाका प्रशिक्षक २३ वर्षीय रहिस खाँ बालिका हत्या आरोपमा प्रक्राउ परेपछि मदरसा व्यवस्थापन समितिले नै विद्यालयको अनुमति रद्दका लागि २० कात्तिकमा गाउँपालिकालाई पत्र लेखेको थियो । सोही पत्रका आधारमा पालिकाले मदरसा सञ्चालनको अनुमति रद्द गरेको अध्यक्ष युवराज केसीले बताए ।
गत १७ कात्तिकमा स्थानीय खोलाको बीचमा शव फेला परेको चन्द्रकोट–४ बस्ने मनीषाको बलात्कारपछि हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । खाँ हाल अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा छन् । उनलाई गुल्मी जिल्ला अदालतबाट सोमबार पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको छ ।
बाँकेको खजुरा गाउँपालिका–७ घर भई हाल चन्द्रकोट गाउँपालिका–४ बस्ने खाँ विगत केही समयअघि मात्रै मदरसाको प्रशिक्षकका रूपमा चन्द्रकोट आएका थिए । मदरसामा पहिले स्थानीय व्यक्ति नै प्रशिक्षक थिए तर समितिले स्थानीयलाई हटाएर खाँलाई प्रशिक्षकका रूपमा ल्याएको थियो ।
