पर्साको वीरगञ्जमा हैजाको सङ्क्रमण तीव्र बनेको छ । हालसम्म १३६ जनामा हैजा पुष्टि भएको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यद्यपि, कुल ५३९ जना झाडापखालाका बिरामी अस्पताल भर्ना भइसकेका छन् । यसमध्ये ५६ जना उपचारपछि डिस्चार्ज भएका छन् भने २८३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन् ।
सामान्य झाडापखालाबाट हैजा छुट्याउन ढिला भएको र संक्रमितको संख्या दिनप्रतिदिन बढ्दो क्रममा रहँदा सरकारी तयारी पर्याप्त नभएको आलोचना उठिरहेको छ । गएको रातमात्रै थप ११४ जना झाडापखालाका बिरामी अस्पताल पुगेका छन्, जसले स्थिति नियन्त्रणभन्दा बाहिर जान सक्ने आशंका बढाएको छ ।
यद्यपि, सरकारले भने "हैजा नियन्त्रणउन्मुख" भएको दाबी गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पानीका स्रोतको शुद्धीकरण, जनचेतनामूलक कार्यक्रम, औषधि आपूर्ति र दक्ष स्वास्थ्यकर्मी परिचालनजस्ता उपाय अवलम्बन गरिएको छ । संघीय, प्रदेश र स्थानीय तहसँगै विश्व स्वास्थ्य सङ्गठन (WHO) को टोली समेत खटिएको मन्त्रालयको भनाइ छ ।
तर, यथार्थमा संक्रमितको संख्या बढ्दो क्रममा रहँदा स्थानीयवासीले सफा खानेपानी, उचित सरसफाइ र समयमै स्वास्थ्य सेवाको पहुँचमा अझै कमी रहेको गुनासो गरेका छन् । हैजा नियन्त्रणका लागि सरकारको पहल देखिएको भए पनि कार्यान्वयनमा कमजोरी देखिएको प्रष्ट हुन्छ ।
