पहाडी जिल्लाहरूमा डेङ्गीको जोखिम बढ्दै गएको छ। बैतडी स्वास्थ्य कार्यालयका अनुसार हालसम्म सात जनामा सङ्क्रमण पुष्टि भएको छ। कार्यालयका प्रयोगशाला प्राविधिक जयसिंह बडालले दशरथचन्द नगरपालिकामा तीन, पुचौडी नगरपालिकामा दुई र मेलौली तथा पाटन नगरपालिकामा एक/एक जनामा सङ्क्रमण देखिएको बताउनुभयो। प्रकोप नियन्त्रणका लागि ‘लार्भा खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी विपिन लेखकले वर्षायाममा लामखुट्टे बढी सक्रिय हुने भएकाले जिल्ला सदरमुकाम र पाटन बजारमा रोकथाम तथा नियन्त्रणका लागि काम थालिएको जानकारी दिनुभयो।यो अभियान तीन महिनासम्म सञ्चालन हुने र यसमा सहभागी हुन पालिकाभित्रका सबै विद्यालय, स्वास्थ्यचौकी र सरकारी कार्यालयहरूलाई आग्रह गरिएको दोगडाकेदार गाउँपालिकाका सूचना अधिकारी प्रयागराज पन्तले बताउनुभयो।
त्यसैगरी,‘पानी जम्न नदिऔँ, लामखुट्टेको बासस्थान नष्ट गरौँ’ भन्ने नाराका साथ आजदेखि सङ्खुवासभामा डेङ्गीविरुद्ध सचेतनामूलक अभियान सुरु भएको छ। स्वास्थ्य कार्यालय र खाँदबारी नगरपालिकाको संयुक्त आयोजनामा भएको यो कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, विद्यार्थी, युवा क्लब र विभिन्न सङ्घसंस्थाहरूले सहभागिता जनाएका थिए। उनीहरूले टोलटोलमा सरसफाइ, झाडी हटाउने, पानी जम्ने भाँडा खाली गर्ने र डेङ्गीका लक्षण तथा रोकथामबारे जानकारी दिने पर्चा वितरण गरेका छन्।
जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले डेङ्गी हिमाली जिल्लासम्म फैलिनु चिन्ताको विषय भएको बताउनुभयो। स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत रोशन श्रेष्ठका अनुसार साउन र भदौ महिनामा ७८ जनामा सङ्क्रमण पुष्टि भएको छ।
