दोलखा । आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखामा चुनावी गतिविधि बढ्न थालेको छ। जिल्लाका विभिन्न स्थानीय तहबाट पार्टीका नेताहरूले पालिका प्रमुख पदमा उम्मेदवारी दिने आकांक्षा व्यक्त गर्न थालेका छन्।प्राप्त जानकारीअनुसार, दोलखाका तीन स्थानीय तहबाट रास्वपाका तीन नेताले आगामी निर्वाचनमा पालिका प्रमुख पदमा प्रतिस्पर्धा गर्ने इच्छा देखाएका छन्।
आकांक्षा व्यक्त गर्नेहरूमा भीमेश्वर नगरपालिकाबाट जिल्ला सभापति दिनेश बस्नेत, तामाकोशी गाउँपालिकाबाट सहसचिव अर्जुन कार्की र बिगु गाउँपालिकाबाट सचिवालय सदस्य ओमकृष्ण आचार्य रहेका छन्।पार्टीको जिल्ला तथा संगठनात्मक जिम्मेवारीमा रहेका उनीहरूले आ–आफ्नो पालिकाको नेतृत्व गर्ने आकांक्षा व्यक्त गरेका हुन्।
यद्यपि, तीनै जनाको उम्मेदवारीबारे पार्टीले औपचारिक निर्णय गरिसकेको छैन। उम्मेदवार छनोट र टिकट वितरण प्रक्रिया बाँकी रहेकाले अन्तिम उम्मेदवार को हुने भन्ने विषय स्पष्ट हुन बाँकी छ।आगामी स्थानीय तह निर्वाचनमा दोलखाका विभिन्न पालिकामा रास्वपाले कस्ता उम्मेदवार अघि सार्छ भन्ने विषयले जिल्लाको राजनीतिक वृत्तमा चासो बढाएको छ।