मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

जेन जी अभियान्ता अजय सोराडी आमरण अनसनमा, स्वास्थ्य अवस्था गम्भीर बन्दै!!

जेन जी अभियान्ता अजय सोराडीले विभिन्न माग राख्दै आमरण अनसन सुरु गरेको सात दिन पूरा भएको छ। काठमाडौँको माइतीघर मण्डलामा अनसनरत सोराडीको स्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर हुँदै गइरहेको बताइएको छ। अनसन घोषणा गर्दै सोराडीले जेन जी आन्दोलनका क्रममा भएका बलिदान, घाइते र सहिदहरूको त्यागको मूल्य–मान्यता स्थापित नगरी देशलाई जबर्जस्ती निर्वाचनतर्फ धकेलिनु गम्भीर षड्यन्त्र भएको आरोप लगाएका छन्।

“शरीरमा एक थोपा रगत र एक सास बाँकी रहुन्जेलसम्म यो षड्यन्त्र सफल हुन दिने छैनौँ,” उनले बताएका छन्। उनले घाइते र सहिदहरूको त्यागलाई कुल्चेर चुनावमा जानेहरू कायर र धोकाबाज भएको दाबी गर्दै इतिहासले यस्ता तत्वहरूलाई कहिल्यै माफी नदिने चेतावनी दिएका छन्।

यसै सन्दर्भमा उनले आमरण अनसनमार्फत ६ बुँदे माग अघि सारेका छन्। उनका मागहरूमा निर्वाचन गतिविधि तत्काल रद्द गरी सर्वपक्षीय सरकार गठन गर्नुपर्ने, जेन जी आन्दोलनका बन्दीहरू तत्काल रिहा गरी दोषीमाथि कारबाही गर्नुपर्ने, भ्रष्टाचारमा संलग्नमाथि छानबिन र कडा कारबाही गर्नुपर्ने, प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री प्रणाली लागू गर्नुपर्ने, संविधान संशोधन वा पुनर्लेखनमार्फत राज्यको पुनर्संरचना गर्नुपर्ने र विदेशमा रहेका नेपालीलाई मताधिकार सुनिश्चित गर्नुपर्ने रहेका छन्। स्वास्थ्य अवस्था कमजोर बन्दै गए पनि माग पूरा नभएसम्म अनसन नतोड्ने अडान सोराडीले लिएका छन्।

सर्लाही–४ मा ‘हाइ अलर्ट’: गगन र अमरेशको टक्करले सबै मतदानस्थल ‘रेड जोन’ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सर्लाही जिल्लामा सुरक्षा सतर्कता बढाइएको छ। नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका नेता अमरेशकुमार सिंह चुनावी मैदानमा उत्रिएपछि निर्वाचन क्षेत्र नम्बर–४ लाई प्रशासनले विशेष निगरानीसहित ‘रेड जोन’ अर्थात् अति संवेदनशील सूचीमा राखेको हो। सर्लाही–४ का सबै ८१ मतदानस्थललाई सुरक्षा दृष्टिले अति संवेदनशील घोषणा गरिएको छ।

जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले ती मतदानस्थलहरूको स्थलगत निरीक्षण गरी सुरक्षा तयारी कडा बनाएका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सर्लाहीमा कुल ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र रहेका छन्। तीमध्ये १५८ मतदानस्थल अति संवेदनशील, १३१ संवेदनशील र २३ मतदानस्थल सामान्य सूचीमा छन्। मतदानस्थलको संवेदनशीलता भारतसँगको खुला सीमा, विगतका राजनीतिक झडप, आपराधिक गतिविधि र कडा चुनावी प्रतिस्पर्धाका आधारमा निर्धारण गरिएको हो। प्रशासनले शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि अति संवेदनशील क्षेत्रमा विशेष सुरक्षा बल परिचालन गर्ने जनाएको छ।