जापानकी सानेई तकाइची देशको पहिलो महिला प्रधानमन्त्रीका रूपमा निर्वाचित भएकी छन्। जापानको संसद्का दुवै सदनमा भएको मतदानमा बहुमत प्राप्त गर्दै उनी प्रधानमन्त्री बनेकी हुन्।
हत्या गरिएका पूर्वप्रधानमन्त्री शिन्जो आबेकी राजनीतिक शिष्या समेत रहेकी ६४ वर्षीया तकाइचीले मंगलबार ४६५ सदस्यीय तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ्स) मा २३७ मत प्राप्त गर्दै प्रधानमन्त्री पदमा निर्वाचित भइन्। यो उनको तेस्रो प्रयास हो।
सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) की नेतृ तकाइची जापानमा ‘आयरन लेडी’ का रूपमा परिचित छिन्। उनी यसअघि मन्त्री समेत रहिसकेकी थिइन्। राजनीतिमा प्रवेश गर्नुअघि उनी टेलिभिजन होस्ट र हेभी मेटल ड्रमरका रूपमा पनि चर्चित थिइन्।
उनको विजय एलडीपी र दक्षिणपन्थी जापान इन्नोभेशन पार्टी (जेआईपी) बीच सोमबार भएको अन्तिम क्षणको गठबन्धन सम्झौतापछि सम्भव भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
तर दुई दलको गठबन्धन हुँदा पनि संसदमा दुई सिटले बहुमत नपुगेकाले जापानमा राजनीतिक अस्थिरताको जोखिम कायम रहेको विश्लेषकहरूले बताएका छन्।
तकाइचीले निवर्तमान प्रधानमन्त्री शिगेरु इशिबालाई प्रतिस्थापन गर्दै नयाँ सरकारको नेतृत्व सम्हालेकी हुन्। एलडीपीले जुलाईमा भएको निर्वाचनमा पराजय बेहोरेपछि तीन महिनादेखि चलिरहेको राजनीतिक अनिश्चितता यससँगै अन्त्य भएको छ।
यो निर्वाचन जापानको राजनीतिक इतिहासमा महिलाको नेतृत्व उदयको ऐतिहासिक मोडका रूपमा हेरिएको छ। एलडीपीले पछिल्लो पाँच वर्षमा चौथो पटक नयाँ प्रधानमन्त्री चयन गरेको हो। पार्टी पछिल्ला वर्षहरूमा विभिन्न घोटालाका कारण आलोचनामा परेको थियो।
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि तकाइचीको प्रशंसा गर्दै भनेका छन्, “उनी सम्मानित र बुद्धिमान नेतृ हुन्।”
प्रधानमन्त्री बनेपछि तकाइचीको मुख्य चुनौतीहरूमा सुस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्नु, अमेरिका–जापान सम्बन्ध सुदृढ गर्नु, र सत्तारूढ दललाई एकजुट बनाउनु रहेका छन्।