नेपाली शेयर बजार लगातार तेस्रो दिन घटेको छ। आज नेप्से परिसूचक ६.५५ अङ्कले घटेर २,७१९.७७ विन्दुमा झरेको छ। हिजो नेप्से १५ र अस्ति १९ अङ्कले घटेको थियो।
आज म्युचुअल फन्ड र व्यापार समूह बाहेक सबै समूहको शेयर घटेको छ। कुल १६५ कम्पनीको शेयर घटेको छ भने ८५ कम्पनीको शेयर बढेको छ। एक कम्पनीको शेयरमा भने कुनै घटबढ भएको छैन।
आजको कारोबारमा बाराही हाइड्रोपावर कम्पनीको शेयर सबैभन्दा धेरै ३.८३ प्रतिशतले घटेको छ। समग्र बजार घटेको दिन पनि हिम स्टार ऊर्जा कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।
यद्यपि नेप्से घटे पनि करोबार रकम भने बढेको छ। हिजो ४ अर्ब ७२ करोड रुपैयाँको कारोबार भएकोमा आज ३१७ कम्पनीका १ करोड २७ लाख कित्ता शेयर ५ अर्ब १४ करोड रुपैयाँमा किनबेच भएका छन्।
