संयुक्त राष्ट्रसङ्घ (यूएन) र सहायताकर्मी संस्थाहरूले गाजामा भोकमरी चर्किँदै गएको गम्भीर चेतावनी दिएका छन्।
यूएनका सहायक मानवीय प्रमुख जोय्स मुसुयाले हिजो यूएन सुरक्षा परिषदलाई सम्बोधन गर्दै गाजाको उत्तर–मध्य क्षेत्रमा भोकमरी पुष्टि भइसकेको र आगामी महिनाको अन्त्यसम्म यो अवस्था देइर अल–बलाह र खान युनिससम्म फैलिन सक्ने अनुमान व्यक्त गर्नुभयो।
अहिले मात्र पाँच लाखभन्दा बढी मानिस भोक, अभाव र ज्यान जाने जोखिममा छन्। अन्तर्राष्ट्रिय समाचार संस्था अलजजिराका अनुसार सेप्टेम्बरको अन्त्यसम्म यो संख्या ६ लाख ४० हजार नाघ्न सक्नेछ। यसमध्ये पाँच वर्षमुनिका करिब एक लाख ३२ हजार बालबालिका गम्भीर कुपोषणको जोखिममा छन्।
गाजाको स्वास्थ्य मन्त्रालयले भोकमरी र कुपोषणका कारण हिजो मात्र १० जनाको मृत्यु भएको पुष्टि गरेको छ। युद्ध सुरू भएयता भोकमरीका कारण ज्यान गुमाउनेको संख्या ३१३ पुगेको छ, जसमा एक सय १९ बालबालिका रहेका छन्।
