मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राष्ट्र बैंकले दुई अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने

नेपाल राष्ट्र बैंकले दुई अर्ब ६० करोड रुपैयाँ मुद्दती निक्षेपमार्फत विभिन्न बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

केन्द्रीय बैंकका अनुसार उक्त रकम ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंक र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा मुद्दती निक्षेपका रूपमा राखिनेछ। यस अन्तर्गत वाणिज्य बैंकमा दुई अर्ब आठ करोड, विकास बैंकमा ३९ करोड र वित्त कम्पनीमा १३ करोड रुपैयाँ लगानी गरिनेछ।

राष्ट्र बैंकले नोभेम्बर ९, २०२५ देखि नोभेम्बर ९, २०२६ सम्म ३६६ दिन अवधिको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो।

निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा आएको कम्तीमा दुई वर्ष पूरा गरेको हुनुपर्नेछ। साथै, राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष कायम गरेको, निष्क्रिय कर्जा कुल कर्जाको ५ प्रतिशतभन्दा कम रहेको, खुद तरल सम्पत्ति न्यूनतम सीमा भित्र रहेको, कर्जा/निक्षेप अनुपात निर्धारण गरिएको सीमाभित्र रहेको र अघिल्लो आर्थिक वर्षमा खुद मुनाफा कमाएको हुनुपर्ने सर्त लागू हुने जनाइएको छ।

त्यस्तै, जरिवाना पाएका सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत (सीईओ) अझै पदमा रहेका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन नपाउने व्यवस्था गरिएको छ। जरिवाना भुक्तान गरेको मितिले कम्तीमा ६ महिना पूरा भएको वा शीघ्र सुधारात्मक कारबाही फुकुवा भएको ६ महिना बितेको हुनुपर्नेछ।

राष्ट्र बैंकको कारबाहीमा परी समस्याग्रस्त घोषणा नभएको, भएको भए फुकुवा भएको ६ महिना पूरा भएको, र सर्वसाधारणका लागि छुट्याइएको सेयर जारी भइसकेको हुनुपर्ने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ।

उक्त मुद्दती निक्षेपका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले यही कात्तिक १८ गते बेलुका ७ बजेसम्म ब्याजदर प्रस्ताव राष्ट्र बैंकमा बुझाउनुपर्नेछ।