काठमाडौं । स्वदेशमै उत्पादन भइरहेको डिलाइट पेन्ट्सले यतिबेला बजारको हिस्सा बढाउँदै गइरेको छ । मोरङ्गको पथरीबाट यसको उत्पादन भएको हो भने ,निकै लामो समयदेखि बजारमा उपभोक्ताहरुले किन्ने गरेका पेन्ट्सहरुलाई डिलाइटले विस्थापित गर्दै लगेको छ।
पेन्ट्सको गुणस्तर र उत्पादक कम्पनिले दिने सेवाका कारण ग्राहकहरुले डिलाइट पेन्ट्सलाई रुचाएको कम्पनिका अध्यक्ष राजेन्द्र बस्नेतले जानकारी दिए । ‘पहिलो त पेन्ट्स भनेको सबै उस्तै क्वालिटीको हुन्छ, त्यती नै केमिकलहरु हालिएको हुन्छ,’ उनी भन्छन्, ‘त्यसमाथि हामी त यहीँ ठाउँमा छौं र यो हाम्रो स्वदेशी उत्पादन भएकोले पनि ग्राहकहरुले ढुक्क भएर प्रयोग गर्ने गर्नुभएको छ ।’ डेढ वर्षदेखि उत्पादन सुरु गरेको डिलाइटले मुख्य चार वटा बेसमा रंग उत्पादन गरिएको छ । रंगको गुणस्तर अन्यन्त राम्रो रहेको र आफूहरुले रंगको प्रयोगमा ग्यारेन्टी नै दिएको उनी बताउँछन् ।
‘हामीले रंगमा ७ वर्षको ग्यारेन्टी दिएका छौं, बिचमा समस्या आयो भने हामी निःशुल्क उपलब्ध गराउँछौं,’ उनी भन्छन्, ‘तपाइको भित्तामा खराबी थियो, रंग लगाउने तरिका मिलेन जस्ता बहाना बनाएर हामी पन्छिँदैनौं ।’ उनले ठूला कम्पनिको रंग प्रयोग गर्दा खराबी आएमा तुरुन्तै गुनासो गर्न नपाइने र गुनासो गरेपनि गुनासोहरु ठाउँमा पुगेर सुनुवाइ नहुने समस्या छ । ‘तर हामीलाई भेट्नलाई कुनै समस्या छैन, सकेसम्म रंग कम्तिमा ७ वर्ष केही हुँदैन, भइहाल्यो भने हामीले ग्यारेन्टी नै लिएका छौं, ढुक्क हुँदा हुन्छ,’ उनले भने ।
उनले आफूहरुले उत्पादन सुरु गरेयता राम्रो प्रतिक्रिया पाएको बताउँदै चाँडै नै आफूहरुले ठूलो बजार हिस्सा ओगट्ने दावी गरे । ‘अहिले पनि हामी काठमाडौ, पोखरासम्म पुगिसकेका छौं,’ उनले भने, ‘डिलरसिप लिन चाहनेहरु पनि बढिरहनुभएको छ, हामी एक वर्षमै प्रदेशभरी बिक्रि वितरणलाई सजिलो बनाउने गरी व्यवस्थित गर्छौं ।’ उनले थपे, ‘ग्राहकहरुले नामभन्दा पनि गुणस्तर खोज्नुहुन्छ भने डिलाइट पेन्ट्स उपयुक्त हुन्छ ।’