प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेक हुँदै भारत–चीन व्यापारिक सहमतिप्रति स्पष्ट आपत्ति जनाउनुभएको छ। बेइजिङमा भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले लिपुलेक नेपाली भूमि भएको जोड दिँदै, भारत र चीनबीच भएको सहमति आपत्तिजनक भएको स्पष्ट रूपमा प्रष्ट पार्नुभएको हो।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्रीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली नदीपूर्वका सम्पूर्ण भूभाग नेपालकै सार्वभौम भूभाग भएको कुरा राष्ट्रपति सीलाई जानकारी गराउनुभएको छ। प्रधानमन्त्री ओलीले यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ। भेटवार्ता सौहार्दपूर्ण रहँदै, दुवै देशबीच मित्रवत सम्बन्ध र सहकार्य अझै प्रगाढ बनाउने सहमति भएको बताइएको छ।
यस्तै, भदौ २ र ३ गते भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले भारतीय समकक्षी एस जयशंकरसँग लिपुलेक हुँदै व्यापार गर्ने समझदारी गरेका थिए। सो समझदारीप्रति नेपालले असहमति जनाउँदै, भारत र चीन दुबैलाई कूटनीतिक नोट पठाइसकेको छ। नेपालले निरन्तर रूपमा कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो अभिन्न भूमि भएको स्पष्ट पार्दै आएको छ।
