पश्चिमी सुडानको मार्रा पर्वत क्षेत्रमा आएको ठूलो पहिरोमा परेर करिब एक हजार जनाको ज्यान गएको छ। सुडान लिबरेसन मुभमेन्ट/आर्मीले हिजो जारी गरेको वक्तव्य उद्धृत गर्दै सीएनएनले गाउँ नै पूर्ण रूपमा ध्वस्त भएको र घटनामा केवल एक व्यक्ति मात्र जीवित उद्धार गरिएको उल्लेख गरेको छ।
लगातार तीन दिनदेखि परिरहेको अविरल वर्षापछि आएको पहिरोले गाउँ पुरिँदा ठूलो मानवीय क्षति भएको बताइएको छ। संयुक्त राष्ट्रसङ्घ तथा अन्तर्राष्ट्रिय राहत संस्थाहरूसमक्ष मृतकहरूको शव उद्धार र प्रभावितलाई सहयोग उपलब्ध गराउन तत्कालीन आग्रह गरिएको छ।
यो क्षेत्र उत्तरी दर्फुर राज्यबाट विस्थापित भएका नागरिकहरूको अस्थायी आश्रय स्थलसमेत बनेको थियो। सुडानी सेनासँग संघर्षरत अर्धसैनिक द्रुत सहयोग बल (RSF) सँगको युद्धका कारण विस्थापित भएका हजारौँ मानिस मार्रा पर्वत क्षेत्रमा शरण लिन पुगेका थिए।
सुडानमा दुई वर्षदेखि जारी गृहयुद्धका कारण आधा जनसङ्ख्या खाद्य सङ्कटको चपेटामा परेको छ भने लाखौँ नागरिक घरबारविहीन भएका छन्। यस्तै, उत्तरी दर्फुरको राजधानी अल–फाशिर अहिले पनि तीव्र युद्धको बीचमै रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
