मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

संविधान दिवसमा प्रधानमन्त्री कार्कीको अपिल : चुनाव सफल बनाउन आह्वान

प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचनलाई सफल बनाउन सबैलाई अपिल गर्नुभएको छ। संविधान दिवस तथा राष्ट्रिय दिवस–२०८२ को अवसरमा मंगलबार काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले सरकार नागरिकप्रति पूर्ण जवाफदेही रहने प्रतिवद्धता व्यक्त गर्नुभयो।

प्रधानमन्त्री कार्कीले निस्पक्ष र पारदर्शी ढंगले निर्वाचन सम्पन्न गरी ६ महिनाभित्र जननिर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने स्पष्ट धारणा राख्नुभयो। उहाँले हालको अन्तरिम सरकार जेन–जी युवाको आन्दोलनले दिएको मार्गदर्शनअनुसार काम गर्न प्रतिबद्ध रहेको पनि बताउनुभयो।

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख आतिथ्यतामा सहभागी हुनुहुन्थ्यो। त्यस्तै, अन्तरिम सरकारका प्रधानमन्त्री कार्की, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलगायतको उपस्थिति रहेको थियो। तर, पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल भने समारोहमा उपस्थित हुनु भएन।

यसपटक संविधान दिवसको मूल समारोहमा विगतमा हुने सांस्कृतिक झाँकीलगायत विशेष कार्यक्रमहरु आयोजना गरिएको थिएन। तर, विभिन्न दलहरूले भने आफ्ना पार्टी कार्यालयमा संविधानको रक्षा र कार्यान्वयनका पक्षमा खबरदारी गर्दै संविधान दिवस मनाएका छन्।

संविधानसभाबाट नेपालको संविधान २०७२ साल असोज ३ गते घोषणा गरिएको हो।