महिलामा पाठेघरको क्यान्सरको जोखिम न्यूनीकरण गर्न लक्षित विद्यालय केन्द्रित एचपिभी खोप सेवा कैलाली जिल्लामा माघ २७ गतेदेखि फागुन १ गतेसम्म सञ्चालन हुने भएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजनामा एचपिभी खोप सेवा सञ्चालन हुने भएको हो ।
स्वास्थ्य कार्यालय कैलालीले यस वर्ष निर्वाचनका कारण खोप अभियानको समयतालिका परिवर्तन गरिएको जनाएको छ । यसअघि फागुन २१ गतेबाट सञ्चालन गर्ने तयारी गरिएको भए पनि यस वर्ष माघमै अभियान सुरु गरिएको जनाएको छ ।
एचपिभी खोप मुख्यतया कक्षा ६ देखि १० सम्म अध्ययनरत किशोरीहरूलाई लगाइने छ । स्वास्थ्य कार्यालयका अनुसार यस वर्ष दश हजार तीन सय ८५ किशोरीलाई खोप लगाउने लक्ष्य रहेको छ । जसमा विद्यालय बाहिर रहेका एक सय ७६ जना बालबालिकालाई समेत खोजी गरी खोपमा समावेश गरिनेछ । यस्तै, गत वर्ष कुनै कारणले खोप छुट भएका ११–१४ वर्ष उमेर समूहका ९९ जना किशोरीहरूलाई पनि यस पटक समेटिने योजना बनाइएको छ ।
जिल्लाभर खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न ३८५ सामुदायिक र २८१ संस्थागत विद्यालय छनोट गरिएका छन् । यी विद्यालयमार्फत ४२९ वटा खोप केन्द्र स्थापना गरिनेछ । अभियानलाई सफल बनाउन ३८८ जना स्वास्थ्यकर्मी र ३८८ जना स्वयंसेवक खटाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा ४७ हजार ६ सय ५५ जनाले विभिन्न खोप सेवा लिएका थिए । यस वर्ष उक्त संख्यालाई अझ बढाएर शतप्रतिशत लक्ष्य हासिल गर्ने उद्देश्य रहेको छ ।
गत वर्ष खोप अभियानका क्रममा दुई जनामा स्वास्थ्य समस्या देखिएको विषयमा उठेका जिज्ञासाप्रति स्पष्ट पार्दै स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले ती समस्या खोपका कारण नभएको बताएका छन् । ‘खोप लगाउँदा होइन, एन्जाइटी र मानसिक त्रासका कारण समस्या देखिएको हो,’ उनले भने, ‘खोप पूर्ण रूपमा सुरक्षित छ ।’ उनका अनुसार खोपसम्बन्धी गलत सूचनाले बालबालिका र अभिभावकमा अनावश्यक डर सिर्जना गर्ने गरेको छ, जसले खोप अभियानलाई चुनौतीपूर्ण बनाइरहेको छ ।
स्वास्थ्य कार्यालय कैलालीले खोप अभियानका क्रममा कुनै समस्या, जिज्ञासा वा शंका भएमा स्वास्थ्यकर्मीमार्फत सही जानकारी लिन सबैलाई आग्रह गरेको छ । सुरक्षित, प्रभावकारी र जीवनरक्षक खोपबाट कुनै पनि किशोरी वञ्चित नहोस् भन्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।