देशभरको हवाई सेवा आज प्रतिकूल मौसमका कारण प्रभावित बनेको छ । मौसममा आएको खराबी र ‘इनरुट वेदर’ बिग्रँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानमा असर परेको हो ।
त्रिभुवन विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार खराब मौसमका कारण आज केही आन्तरिक उडान ‘डाइभर्ट’ गर्नुपरेको छ भने भरतपुर र तुम्लिङटार विमानस्थलमा उडान पूरै बन्द गरिएको छ ।
पोखरा विमानस्थलमा आगमन उडान बन्द गरिएको र ‘डिपार्चर’ मात्रै खुला रहेको बताइएको छ ।
विराटनगरबाट काठमाण्डौका लागि उडेको श्री एयरलाइन्सको विमान विराटनगरमै डाइभर्ट भएको छ भने भैरहवाबाट काठमाण्डौ आउँदै गरेको सोही एयरलाइन्सको विमान पनि पुनः भैरहवा फर्काइएको छ ।
अन्तर्राष्ट्रिय उडानमा समेत असर परेको छ । नेपाल एयरलाइन्सको नयाँदिल्ली जाने विमान पनि खराब मौसमका कारण भारतकै नयाँदिल्ली विमानस्थलमा डाइभर्ट गरिएको विमानस्थलले जनाएको छ ।
