मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

दुर्गा प्रसाईंको समर्थनमा ‘नागरिक बचाउ दल’ दर्ता प्रक्रियामा, नेतृत्वमा माधव खतिवडा

विवादास्पद अभियन्ता दुर्गा प्रसाईंको समर्थनमा नयाँ राजनीतिक दल गठनको प्रक्रिया अघि बढेको छ। ‘नागरिक बचाउ दल’ नाममा दर्ता गर्नुपर्ने आवेदन निर्वाचन आयोगमा दर्ता भइसकेको आयोगले जनाएको छ। दलको नेतृत्वमा माधव खतिवडा रहने उल्लेख भएको छ।

प्रसाईंले पछिल्ला महिनाहरूमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔं” नामक महाअभियान चलाउँदै आएका छन्। सोही अभियानसँग मिल्दोजुल्दो नाममा राजनीतिक संगठन गठन गरिएको बताइएको छ।
आइतबार पार्टीका केन्द्रीय सदस्यहरू सनाखतका लागि निर्वाचन आयोग पुगेका छन्।

आज दल दर्ताका लागि अन्तिम दिन

प्रतिनिधि सभा निर्वाचनको प्रयोजनका लागि दल दर्ताको समय आज (आइतबार) सकिँदै छ। आयोगका अनुसार भोलिदेखि मंसिर १० गतेसम्म प्रतिनिधि सभा सदस्य निर्वाचन–केन्द्रित दल दर्ता गर्न सकिन्छ।
मंसिर १० गतेसम्म दर्ता प्रमाणपत्र प्राप्त गर्न सकेका दल मात्र आगामी निर्वाचनमा सहभागी हुन पाउनेछन्।

निर्वाचन आयोगले दर्ता निवेदन आएपछि कागजात पर्याप्त छन् कि छैनन् भनेर जाँच गर्ने र आवश्यक कागजात पुरा भएपछि मात्र दर्ता स्वीकृत गरिने स्पष्ट पारेको छ।

प्रतिनिधि सभा चुनाव फागुन २१ मा

आगामी फागुन २१ गते प्रतिनिधि सभा सदस्यको निर्वाचन हुने सरकारी निर्णयअनुसार दल–दर्ता तथा तयारी प्रक्रियाहरू तीब्र बन्दै गएको छ।

सरकारसँग प्रसाईं समूहको संवाद

दुर्गा प्रसाईं पछिल्ला महिनामा सरकारसँग विभिन्न राजनीतिक तथा सामाजिक माग राखेर अभियान सञ्चालन गर्दै आएका छन्।
सरकारले प्रसाईंलाई “चुनावमार्फत आउने” सुझाव दिंदै माग सम्बोधन राजनीतिक प्रक्रियाबाट अघि बढाउन आग्रह गर्दै आएको छ।

कात्तिक १४ गते प्रधानमन्त्री सुशीला कार्कीले सम्पादकहरूसँगको छलफलमा झापामा पुराना नेताहरू कमजोर देखिएको र प्रसाईं उदाउन सक्ने सम्भावना रहेको टिप्पणी गरेकी थिइन्।

कात्तिक २६ गते प्रसाईं नेतृत्वको अभियानसँग गृहमन्त्रालयमा औपचारिक वार्ता भएको थियो।
वार्तामा प्रसाईं पक्षले ७ मंसिरदेखि हुने भनिएको आन्दोलनमा कुनै हिंसात्मक गतिविधि नहुने आश्वासन दिएको थियो। साथै, दल दर्ता गरी चुनावमा जाने तयारी भएको पनि बताएको थियो।

त्यसअनुसार आइतबार प्रसाईं समर्थित दलका नेताहरू सनाखतका लागि आयोग पुगेका हुन्।