इजरायलमा मारिएका कञ्चनपुरका नेपाली विद्यार्थी विपिन जोशीको शव भोलि (सोमबार) नेपाल ल्याइने भएको छ।
परराष्ट्र मन्त्रालयका स्रोतका अनुसार जोशीको शव फ्लाई दुबईको विमानमार्फत काठमाडौं ल्याइने तयारी भइरहेको छ। उक्त विमान दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको मन्त्रालयले जनाएको छ। विपिनप्रति श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू विमानस्थलमा उपस्थित हुने तयारी गरिएको छ।
कञ्चनपुरका विपिन जोशी अध्ययनका लागि इजरायल पुगेका थिए। सन् २०२३ अक्टोबर ७ मा हमासले इजरायलको किबुत्ज क्षेत्रमा गरेको आक्रमणका क्रममा उनी बन्धक बनाइएका थिए। लामो समयसम्म उनको अवस्था अज्ञात रहँदा गत असोज २७ गते इजरायली अधिकारीहरूले उनको मृत्यु पुष्टि गरेका थिए।
इजरायल र हमासबीच भएको युद्धविराम सम्झौतापछि बन्दी साटासाटको क्रममा हमासले विपिनको शव इजरायली सेनालाई हस्तान्तरण गरेको थियो। त्यसपछि गरिएको डीएनए परीक्षण र फरेन्सिक जाँचबाट शव विपिनकै भएको पुष्टि भएको हो। फरेन्सिक प्रतिवेदनअनुसार, विपिनको मृत्यु अपहरण भएताकै समयमा भएको इजरायलस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्।
नेपाल सरकारले विपिनको पार्थिव शरीर सम्मानपूर्वक स्वदेश ल्याई श्रद्धाञ्जली कार्यक्रमसहित परिवारलाई बुझाउने तयारी गरेको छ।
