अफगानिस्तानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा आठ जनाको ज्यान गएको र एक सय ८० जनाभन्दा बढी घाइते भएको छ। बीबीसीका अनुसार मजार–ए–शरिफ नजिकैको खोल्मा क्षेत्रमा गएराति स्थानीय समय अनुसार करिब एक बजे ६.३ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्प करिब २८ किलोमिटर गहिराइमा केन्द्रित भएको बताइएको छ।
मजार–ए–शरिफका बस्तीहरूमा घरहरू क्षतिग्रस्त भएका छन् भने उद्धार कार्य निरन्तर भइरहेको छ। स्थानीय अधिकारीहरूले मृतक र घाइतेको संख्या अझै बढ्न सक्ने बताएका छन्।
सन् २०२१ मा सत्तामा फर्किएपछि तालिबान सरकारले यसअघि पनि ठूला भूकम्पहरूको सामना गर्नुपरेको थियो। यसै वर्ष अगस्ट ३१ मा देशको पूर्वी क्षेत्रमा गएको ६ म्याग्निच्युडको भूकम्पमा २२ सयभन्दा बढी मानिसको मृत्यु भएको थियो।
भूगर्भविद्हरूका अनुसार अफगानिस्तान हिन्दु कुश पर्वतशृंखलाको नजिक पर्ने भएकाले यहाँ बारम्बार भूकम्प जाने गर्छ। यो क्षेत्र युरेशियन र भारतीय टेक्टोनिक प्लेटहरू ठोक्किने स्थानमा परेको छ। सन् १९०० यता अफगानिस्तानको उत्तरपूर्वी क्षेत्रमा सात म्याग्निच्युडभन्दा माथिका १२ वटा शक्तिशाली भूकम्प आइसकेका छन्
