मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

चार वर्षपछि एमालेमा फर्किएकी रामकुमारी झाँक्रीको भनाइ: ‘विगतका कथनको प्रमाण भविष्यले दिनेछ’

चार वर्षपछि नेकपा (एमाले) मा फर्किएकी नेतृ रामकुमारी झाँक्रीले विगतमा आफूले बोलेका कुरा र निर्णयको मूल्यांकन भविष्यले गर्ने बताएकी छन्। सोमबार राष्ट्रियसभा गृहमा आयोजित ‘घर फर्क अभियान’ कार्यक्रममा बोल्दै झाँक्रीले विगतका घटनाहरूलाई समय र परिस्थितिले परिभाषित गर्ने टिप्पणी गरिन्।

उनले भनिन्, “इतिहासमा जे भयो, जुन परिस्थितिमा भयो — त्यो बेला त्यही ठिक लाग्यो। अहिले ती कुरा ठिक थिए वा बेठिक, त्यसको प्रमाणित गर्ने अधिकार भविष्यलाई नै दिन्छु। मबाट भएका कुरा र निर्णयका लागि समय नै मेरो निर्णायक हुनेछ।”

झाँक्रीले यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि गरेको आलोचना र टिप्पणीसम्बन्धी उनका भिडियोहरू हाल सामाजिक सञ्जालमा पुनः भाइरल बनेका छन्। तर, पार्टीमा पुनः फर्केपछि उनले ओलीलाई राष्ट्रवादी नेता र एमालेलाई “कम्युनिस्ट आन्दोलनको मूल प्रवाह” को रूपमा व्याख्या गरिन्।

नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) सँग मिलेर बनेको “नेपाली कम्युनिस्ट पार्टी” एकता प्रयास असफल भएपछि झाँक्री पुनः एमाले फर्किएकी हुन्। उनले एमालेप्रति पुनः प्रतिबद्धता जनाउँदै कम्युनिस्ट आन्दोलनलाई सशक्त बनाउने अठोट व्यक्त गरिन्।