मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

९ वर्षदेखि कालोपत्र नहुँदा बागलुङ खण्डका यात्रु हैरान

करिब नौ वर्ष बितिसक्दा पनि कालोपत्र नहुँदा मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा यात्रुहरू निरन्तर सास्ती भोगिरहेका छन्। विशेषगरी बिहुँ–घोडाबाधे खण्ड (१३ किमी) मध्ये करिब ६ किलोमिटर सडकको दुरावस्थाले दैनिक गाडी फस्ने समस्या बढाएको छ।

यो खण्ड हिउँदमा धुलाम्मे र वर्षामा हिलाम्मे हुने भएकाले सवारीसाधन वारपार गर्नै मुस्किल हुने गरेको छ। बागलुङ बजारदेखि घोडाबाधेसम्मको २५ किलोमिटर सडकलाई दुई भागमा विभाजन गरेर नौ वर्षअघि कालोपत्र गर्ने गरी ठेक्का लगाइएको थियो। तर, आठ वर्षसम्म काम नपुगेपछि पुरानो ठेक्का तोडिएको थियो।

पुनः ठेक्का लागे पनि प्रगति नगण्य छ। एक वर्ष बितिसक्दा पनि २१ करोड रुपैयाँको ठेक्कामा जम्मा १० प्रतिशत मात्र काम भएको छ। यसबीच सडक चौडा पार्दा माटो खुल्ला भएकाले अझ बढी हिलाम्मे बन्न पुगेको छ।

सामग्री ढुवानीका लागि चितवनबाट गलकोटतर्फ आएका मिनि ट्रक चालक रमण शर्माले बिहुँमै गाडी फसेको गुनासो गर्दै, “साना कारदेखि जीपसम्म फस्ने क्रम बढ्दो छ,” भने।

यद्यपि, १४० किलोमिटरमध्ये अन्य भागको कालोपत्र सम्पन्न भइसकेको छ। तर, बिहुँ खण्डको समस्या समाधानमा सरोकारवाला निकाय मौन रहेको स्थानीयवासीले गुनासो गरेका छन्।

मध्यपहाडी पुष्पलाल लोकमार्ग आयोजना कार्यालय पर्वतकी इञ्जिनियर कल्पना मिश्रले पुनः ठेक्का सम्झौता भइसकेको र अहिले पूर्वाधार निर्माणको काम भइरहेको जानकारी दिइन्। उनले भनिन्, “वर्खामा सडक हिलाम्मे हुने स्वाभाविक हो। सवारीसाधन फस्ने समस्या समाधानका लागि ठेकेदारलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ।”

२०७८ साल असार २१ गते, तामाङ-रिजाल भगवती जेभीसँग २१ करोड ४९ लाख रुपैयाँमा दुई वर्षभित्र बाँकी पूर्वाधार र कालोपत्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो। तर, प्रगति सुस्तै रहेकाले यात्रु र स्थानीय दुवै चिन्तित छन्।