गाजापट्टीमा इजरायली सेनाको आक्रमणमा कम्तिमा ६४ जना प्यालेस्टिनीको ज्यान गएको छ। इजरायली सेनाले विस्तारित लडाइँ सुरू गर्नुअघि गाजा शहरका बासिन्दालाई सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेको थियो।
गाजाको दक्षिण–पश्चिममा रहेको ताल अल–हवा छिमेकमा एक अपार्टमेन्ट भवनमाथि गरिएको हवाई आक्रमणमा मात्रै १४ जनाको मृत्यु भएको छ। चिनियाँ समाचार संस्था सिन्हवाका अनुसार उद्धारकर्मीहरूले भग्नावशेषभित्रबाट मृतक र घाइतेहरूलाई निकालिरहेका छन्।
त्यस्तै, शहरको पूर्वी भागमा पर्ने अल–दराज क्षेत्रमा एक आवासीय घरमा भएको बमबारीमा १० जनाको ज्यान गएको छ।
गाजाको उत्तरतर्फ रहेका अल–नासर र शेख रदवान छिमेकमा विस्थापित बासिन्दा बसोबास गरिरहेका अपार्टमेन्ट र पालमाथि आक्रमण हुँदा थप १० जनाको मृत्यु भएको जनाइएको छ।
उत्तरी गाजाकै जबालिया क्षेत्रमा प्यालेस्टिनीहरूको भेलामाथि गरिएको बम आक्रमणमा पाँच जनाको मृत्यु भएको छ भने पश्चिमी गाजा शहरको समुद्रतट नजिकै रहेको खाना भण्डारमाथि भएको हवाई आक्रमणमा तीन जनाको ज्यान गएको अधिकारीहरूले बताएका छन्।
पछिल्ला दिनहरूमा भइरहेको निरन्तर आक्रमणका कारण गाजा शहरमा ठूलो मानवीय संकट थप गहिरिँदै गएको छ।
