मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

कच्चा पदार्थ अभावले पाइप उद्योग संकटमा, मूल्य ६२% सम्म वृद्धि

एचडीपी (HDPE) पाइप उत्पादन गर्ने उद्योगहरू कच्चा पदार्थको अभावका कारण गम्भीर संकटमा परेका छन्। उद्योगीहरूको छाता संगठनले जारी गरेको विज्ञप्तिअनुसार एचडीपी उद्योगमा प्रयोग हुने कच्चा पदार्थ (एचडीपी ग्रान्युल्स) कच्चा तेल प्रशोधनबाट उत्पादन हुने भएकाले पश्चिम एसियामा जारी तनावले यसको आपूर्ति प्रभावित भएको हो।

एसोसिएसनका अनुसार भारत लगायत तेस्रो मुलुकबाट आयात गरिने कच्चा पदार्थको ढुवानी विगत केही सातादेखि अवरुद्ध हुँदा केही उद्योगहरूमा कच्चा पदार्थको मौज्दात शून्य भइसकेको छ। यसका कारण केही उद्योग पूर्ण रूपमा बन्द भइसकेका छन् भने अन्य उद्योगहरू पनि बन्द हुने अवस्थामा पुगेका छन्।

प्रतिस्पर्धात्मक बजारमा माग र आपूर्तिका आधारमा मूल्य निर्धारण हुने भएकाले कच्चा पदार्थको मूल्य करिब ६२ प्रतिशतले बढेको एसोसिएसनले जनाएको छ। साथै इन्धनको मूल्यवृद्धि, ढुवानी खर्चमा वृद्धि तथा अमेरिकी डलरको मूल्यवृद्धिले थप आर्थिक भार परेको उल्लेख गरिएको छ। यसको प्रत्यक्ष असर पाइपको मूल्यमा पनि परेको छ।

एसोसिएसनले कच्चा पदार्थको आपूर्ति सहज नभएसम्म मूल्यवृद्धिको सीमा निर्धारण गर्न नसकिने स्पष्ट पारेको छ। यस अवस्थाले खानेपानी लगायतका पूर्वाधार विकासमा प्रत्यक्ष असर पर्ने देखिएको छ। परियोजनाको लागत बढ्नुका साथै समयमै सम्पन्न नहुने जोखिम पनि बढेको छ। हाल उद्योगहरूले खानेपानी कार्यालय तथा अन्य संस्थाहरूलाई आवश्यक पाइप आपूर्ति गर्न नसक्ने अवस्था रहेको जनाएका छन्।

यसैबीच, पाइप उद्योगले विभिन्न सरकारी निकाय, गैरसरकारी संस्था, निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरूसँग गरेका ठेक्का तथा आपूर्ति सम्झौतामा उल्लेखित मूल्य र समयसीमा पुनःसमायोजन गर्न सबै पक्षसँग अपिल गरेको छ।

साथै, बैंक तथा वित्तीय संस्थाहरूलाई उद्योग क्षेत्रमा वित्तीय सहजीकरण गर्न आग्रह गरिएको छ। उद्योगीहरूलाई धैर्यता अपनाउन आग्रह गर्दै एसोसिएसनले विषम परिस्थितिमा संयमित रूपमा काम गर्न सुझाव दिएको छ।

अन्त्यमा, असामान्य रूपमा पाइपको मूल्य बढाउने वा कृत्रिम अभाव सिर्जना गर्ने कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनअनुसार कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको छ।