काठमाण्डौ – सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई नियन्त्रणमा लिने घोषणा गरेपछि नेपालमा भीपीएन (Virtual Private Network) को प्रयोग र खोजी तीव्र रूपमा बढेको छ। इन्टरनेट ट्राफिक विश्लेषण गर्ने विज्ञहरूले पछिल्ला केही दिनयता भीपीएन एप्स डाउनलोड दरमा उल्लेखनीय वृद्धि भएको जनाएका छन्। गुगल ट्रेन्ड्स अनुसार नेपालमा “VPN download” र “free VPN” जस्ता कीवर्डहरूको खोजी अचानक माथि गएको छ। विशेषज्ञहरूका अनुसार सरकारले फेसबुक, इन्स्टाग्राम, युट्युब, ह्वाट्सएपजस्ता प्लेटफर्म सूचीकरण नभएसम्म रोक्ने तयारी गरेपछि प्रयोगकर्ताले वैकल्पिक पहुँचका लागि भीपीएन रोजेका हुन्। सूचना प्रविधि विज्ञहरूमध्ये केहीले भने नियन्त्रणभन्दा बढी पारदर्शिता र सहजीकरणमा ध्यान दिनुपर्ने सुझाव दिएका छन्। उनीहरूको भनाइमा, भीपीएन प्रतिबन्धित गर्न गाह्रो मात्र होइन, यसले सुरक्षा चुनौती पनि निम्त्याउन सक्छ।
