भारतमा जारी दृष्टिविहीन महिला टी–२० विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन गर्दै अमेरिकालाई १० विकेटले पराजित गरेको छ। अमेरिकाले दिएको १८ रनको लक्ष्य नेपालले मात्र ४ बलमै कुनै विकेट नखोसी पूरा गर्यो।
नेपालका लागि दिल्लीसरा धमलाले १२ रन योगदान दिइन् भने बाँकी ६ रन अतिरिक्तका रूपमा मिले।
यसअघि, बेङ्गलुरुमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ९ ओभर ४ बलमा १७ रनमै सबै विकेट गुमाएको थियो। कुनै पनि अमेरिकी खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अमेरिकाले १३ रन अतिरिक्तबाट पाएको थियो। नेपालकी दिल्लीसरा धमलाले ३ विकेट लिएकी थिइन्।
यससँगै नेपालको यो प्रतियोगितामा तेस्रो जीत हो। यसअघि नेपालले
अस्ट्रेलियालाई ८ विकेटले,
श्रीलङ्कालाई ९ विकेटले हराएको थियो,
भने भारतसँग ८५ रनले पराजित भएको थियो।
