मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

यस वर्षको तिहारमा ४६ लाखभन्दा बढी माला खपत हुने अनुमान

फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर करिब ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ।

एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार यस वर्ष सयपत्री फूलको ४० लाख, मखमली फूलको पाँच लाख ५० हजार, गोदावरी फूलको २० हजार, र मिक्स माला ५० हजार माला बजारमा माग हुने अपेक्षा गरिएको छ।

मूल्यका हिसाबले यस वर्ष सयपत्री मालाको थोक मूल्य प्रतिथान ८५ रुपैयाँ, मखमली फूलको माला ४५ रुपैयाँ, मिक्स फूलको माला ३५० रुपैयाँ, र गोदावरी फूलको माला १,२०० रुपैयाँ पर्नेछ।

श्रेष्ठका अनुसार ग्रामीण क्षेत्रमा सयपत्री फूलको माग आन्तरिक उत्पादनले नै पूरा गर्ने भए पनि शहरी क्षेत्रमा झन्डै १२.५ प्रतिशत माला आयात गर्नुपर्ने देखिएको छ। हालैको अविरल वर्षाका कारण सयपत्रीसहितका फूलखेतीमा क्षति पुगेकाले केही मात्रामा आयात गर्नुपर्ने अवस्था आएको हो।

गत वर्ष सयपत्रीका सात लाख माला आयात गरिएकोमा यो वर्ष करिब पाँच लाख माला मात्रै आयात हुने अनुमान गरिएको छ। अर्कोतर्फ, मखमली फूलका करिब दुई लाख माला विदेश निर्यात हुने एशोसिएसनले जनाएको छ।

कुल रूपमा यस वर्षको तिहारमा करिब ४० करोड ६२ लाख रुपैयाँ बराबरको फूलको कारोबार हुने अनुमान गरिएको छ।