मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

देशका मध्य र पश्चिम क्षेत्रमा वर्षा र हिमपात, जनजीवन प्रभावित

देशका मध्य र पश्चिम क्षेत्रका धेरैजसो स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा र हिमपात भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, मधेश र कोशी प्रदेशबाहेक बाँकी सबै प्रदेशमा वर्षा र हिमपातको प्रभाव देखिएको हो।

महाशाखाले जनाएको अनुसार कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशका धेरैजसो ठाउँमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने लगातार हिमपात भइरहेको छ।

पछिल्लो तीन घण्टाको वर्षा मापनअनुसार नुवाकोटको त्रिशूली (कालीखोला) केन्द्रमा सबैभन्दा धेरै १८.६ मिलिमिटर वर्षा र सिन्धुपाल्चोकको तार्केघ्याङ केन्द्रमा १३.६ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।

काठमाडौँ उपत्यकासहित देशका धेरैजसो ठाउँमा अहिले पनि छिटपुट वर्षा भइरहेको छ। बादल लागेसँगै तापक्रम घटेको र चिसो बढेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातसँगै जनजीवन प्रभावित बनेको छ।

मौसमविद्हरूका अनुसार आउँदो शुक्रवारसम्म नै वर्षा र हिमपात जारी रहने सम्भावना छ।
महाशाखाले जारी गरेको तीन दिने मौसमी बुलेटिनका अनुसार भोलि (बुधबार) वर्षा केही घट्ने भए पनि पर्सि (बिहीबार) फेरि केही स्थानमा ठूलो वर्षा र हिमपात हुने सम्भावना रहेको छ।

लगातारको वर्षा र हिमपातका कारण पहाडी राजमार्गका कतिपय भागमा सवारी आवागमनमा समस्या देखिएको छ भने हिमाली जिल्लाका बासिन्दा ठूला चिसोको सामना गरिरहेका छन्।

मौसमविद्हरूले जनसाधारणलाई आवश्यक सतर्कता अपनाउन र यात्रामा विशेष सावधानी बरत्न आग्रह गरेका छन्।