१४ देशका ३८ चलचित्रसहित सम्पन्न भयो पहिलो काठमाडौं फिल्म फेस्टिभल

शबाना आजमीदेखि राजेश हमालसम्मको सहभागिता, ‘भकुण्डे भूत’ बन्यो उत्कृष्ट लघु चलचित्र

काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलोपटक आयोजना गरेको ‘काठमाडौं फिल्म फेस्टिभल’ सम्पन्न भएको छ। कात्तिक १३ गते विश्व सम्पदा क्षेत्र वसन्तपुरबाट सम्पदा यात्रासहित सुरु भएको तीनदिने महोत्सव कात्तिक १५ गते बौद्धस्थित तारागाउँ नेक्स्टको एम्पिथिएटरमा समापन भएको हो।

युनेस्कोको सिर्जनशील चलचित्र सहर सञ्जालमा आबद्ध भएपछि आयोजना गरिएको महोत्सवमा १४ देशका ३८ चलचित्र प्रदर्शन गरिएका थिए। राष्ट्रिय सभा गृह र जय नेपाल चलचित्र भवनमा नेपाली तथा विदेशी चलचित्र प्रदर्शनसँगै चलचित्रसम्बन्धी छलफल, कार्यशाला, अन्तरक्रिया र सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएको थियो।

महोत्सवको उद्घाटन वसन्तपुरमा परम्परागत बाजागाजा, गणेश चर्या, अष्टमातृका नृत्य तथा विभिन्न सांस्कृतिक प्रस्तुतिसहित गरिएको थियो। दोस्रो दिन आयोजित रातो कार्पेट समारोहमा भारतीय अभिनेत्री शबाना आजमीसहित नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, करिश्मा मानन्धर, दीपकराज गिरी र केकी अधिकारीलगायत सहभागी भएका थिए। सोही अवसरमा शबाना आजमी र अभिनेत्री स्वस्तिमा खड्काबीच चलचित्र तथा जीवनसम्बन्धी विशेष अन्तरक्रिया पनि भएको थियो।

महोत्सवअन्तर्गत आयोजित ‘मेरो संस्कृति, मेरो सम्पदा’ लघु चलचित्र प्रतियोगितामा जीवन सुनुवार निर्देशित ‘भकुण्डे भूत’ प्रथम भएको छ। करिब पाँच मिनेटको उक्त चलचित्रले परम्परागत विश्वास र रहस्यलाई विषय बनाएको छ। अनुभव श्रेष्ठ निर्देशित ‘द सोल अफ गुठी’ दोस्रो र सौगात सापकोटा निर्देशित ‘झिँगु छेँ’ तेस्रो भएका छन्।

समापन समारोह बौद्ध स्तूपाको परिक्रमा र प्रार्थनाबाट सुरु भएको थियो। त्यसपछि कलाकार तथा चलचित्रकर्मीहरू बौद्धबाट तारागाउँसम्म पैदल यात्रा गर्दै समापन समारोहमा सहभागी भएका थिए। चलचित्रका सर्जकलाई काठमाडौंको जनजीवन र सांस्कृतिक परिवेशसँग परिचित गराउने उद्देश्यले पैदल यात्राको आयोजना गरिएको महानगरपालिकाले जनाएको छ।

समापन समारोहमा महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौंलाई रचनात्मक सहर सञ्जालमा आबद्ध गराउँदा चार वर्षभित्र चलचित्र महोत्सव आयोजना गर्ने प्रतिबद्धता पूरा भएको बताइन्। पहिलो संस्करणबाट प्राप्त अनुभव र सुझावलाई समेट्दै आगामी संस्करणलाई थप व्यवस्थित र परिष्कृत बनाइने उनको भनाइ थियो।

वरिष्ठ कलाकार नीर शाहले महोत्सवको अनुभवलाई अभिलेखन, पुस्तान्तरण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। अभिनेता राजेश हमालले चलचित्र समाजका कथा, अवस्था र परिस्थितिलाई दर्शकमाझ पुर्‍याउने सशक्त माध्यम भएको उल्लेख गर्दै नेपाली सम्पदालाई अन्तर्राष्ट्रियस्तरमा चिनाउन यसको प्रयोग गर्नुपर्ने बताए।

त्यस्तै, सांघाई फिल्म एकेडेमीअन्तर्गत फिल्म आर्ट्स रिसर्च सेन्टरका विशिष्ट प्राध्यापक मार्को मुलरले दक्षिण एसियाली चलचित्र उद्योगको विकासका लागि नेपालमा पर्याप्त सम्भावना रहेको बताए। नेपालमा रहेका सम्भावनाको पहिचान गरी चलचित्र उद्योगलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो।

महोत्सवका सिर्जनात्मक निर्देशक तथा चलचित्र छनोटकर्ता आयुषा श्रेष्ठले चलचित्र तथा कला क्षेत्रबाट प्राप्त सहयोगले महोत्सव सफल भएको बताइन्। नेपाल पर्वतारोहण संघकी अध्यक्ष फुर्वा गल्मो शेर्पाले नेपालको साहसिक पर्यटनसँग सम्बन्धित कथालाई चलचित्रसँग जोड्न महानगरपालिकाले सहयोग गर्नुपर्ने धारणा राखिन्।

समापन समारोहमा महोत्सव आयोजनामा योगदान पुर्‍याउने कलाकार, निर्देशक, सल्लाहकार तथा साझेदार संस्थाका प्रतिनिधिलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

नेपाली चलचित्रको अन्तर्राष्ट्रिय प्रवर्द्धन, काठमाडौंका मौलिक कथा तथा सम्पदालाई विश्वमाझ पुर्‍याउने र कला एवं सिर्जनात्मक उद्योगको विकास गर्ने उद्देश्यले महानगरपालिकाले पहिलोपटक महोत्सव आयोजना गरेको हो।