देशभर आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन, ४१ लाख बालबालिका लाभान्वित हुने

काठमाडौं । सरकारले आज र भोलि (कात्तिक १७ र १८ गते) देशभर राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दैछ। अभियानअन्तर्गत ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

स्वास्थ्य सेवा विभागअन्तर्गत पोषण शाखाका अनुसार यस अभियानबाट देशभरका करिब ४१ लाख बालबालिका लाभान्वित हुने लक्ष्य राखिएको छ। जसमध्ये करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ र २० लाखलाई जुकाको औषधि खुवाउने तयारी गरिएको छ।

कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मीसहित करिब ६२ हजार जनशक्ति परिचालन गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूले विभिन्न स्थानमा तोकिएका केन्द्रमार्फत बालबालिकालाई औषधि खुवाउनेछन्।

सरकारले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई नजिकैको स्वास्थ्य संस्था वा तोकिएको केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन आग्रह गरेको छ।

बालबालिकामा भिटामिन ‘ए’ को कमीबाट हुन सक्ने स्वास्थ्य समस्या, अन्धोपन तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले यस्तो अभियान सञ्चालन गर्दै आएको छ।

नेपालमा विक्रम संवत् २०५० सालदेखि भिटामिन ‘ए’ र २०५६ सालदेखि जुकाको औषधि खुवाउने कार्यक्रम सुरु भएको हो। सरकारले प्रत्येक वर्ष कात्तिक र वैशाख महिनामा यो अभियान निःशुल्क सञ्चालन गर्दै आएको छ।