पोखरा, नेपाल —
राष्ट्रिय युवा संघ नेपाल (नेकपा एमालेको भातृ संगठन) को १०औं राष्ट्रिय महाधिवेशन जेष्ठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा हुने तयारी अन्तिम चरणमा पुगेको छ। महाधिवेशन नजिकिँदै गर्दा नयाँ नेतृत्व चयनको चर्चा र बहस चुलिँदै गएको छ। यसै सन्दर्भमा उपमहासचिव पदका लागि खेमराज शर्माको उम्मेदवारी संगठनभित्र एक सशक्त र परिपक्व दाबीका रूपमा अगाडि आएको छ।
सुर्खेत जिल्लाको गुटु गाउँमा जन्मिएका शर्मा, बाल्यकालमै आफ्नो परिवारसहित कोहलपुर, बाँके सरेका थिए। त्यतिबेला उनी किशोर थिए। त्यहीँबाट उनको सामाजिक र राजनीतिक यात्रा सुरु भयो। २०५९ सालमा कोहलपुर बसाइँ सरेका शर्माले २०६१ सालमा प्ररायु संघको वडा कमिटी सदस्यबाट औपचारिक राजनीतिक यात्रा थालेका थिए।
उनी संगठनको आधारभूत तहहरू हुँदै क्रमशः गाउँ कमिटी सचिव, क्षेत्रीय कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, उपसचिव, सचिव, हुँदै २०७३ मा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका थिए। त्यसयता उनको निरन्तर अग्रगमनले उनलाई स्थायी कमिटी सदस्य, जिल्ला इञ्चार्ज, र अन्ततः लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारीसम्म पुर्यायो।
नेपालगञ्जमा सम्पन्न ९औं राष्ट्रिय महाधिवेशन (२०७९) मा खेमराज शर्मा केन्द्रीय सचिव तथा प्रशिक्षण विभाग प्रमुखको रूपमा निर्वाचित भए। उनले संगठनभित्र राजनीतिक र वैचारिक गतिविधिमा गहिरो हस्तक्षेप गर्दै आफूलाई कुशल र जिम्मेवार नेताको रूपमा प्रमाणित गरेका छन्।
२०६५ सालदेखि पार्टीको जिल्ला कमिटीमा निरन्तर चार कार्यकाल काम गरिरहेका शर्माले जिल्ला कमिटी सदस्य, सचिवालय सदस्य, र हाल स्कूल विभाग उपप्रमुखको रूपमा समेत पार्टी काममा उल्लेखनीय योगदान दिएका छन्।
शर्मा निम्न वर्गीय परिवारबाट उदाएका नेता हुन्। यही पृष्ठभूमिबाट राजनीति यात्रा थालेका उनले युवासँग नजिकिँदै संगठनभित्र लोकप्रिय युवा नेताको छवि बनाएका छन्। पार्टी र संगठनमा चुनौतीपूर्ण समय आउँदा, विभाजनको खतरा चुलिँदा, संगठनलाई एकताबद्ध राख्न उनले खेलेको भूमिका उल्लेखनीय छ।
उनको सक्रियता, कार्यशैली र वैचारिक परिपक्वता सँगसँगै संगठनप्रतिको निष्ठाले उनलाई महाधिवेशनको प्रमुख अनुहार बनाएको छ। युवामाझ उनको संवादशैली, आत्मविश्वास र नेतृत्व क्षमताले समर्थन बटुलिरहेको देखिन्छ।
पोखरामा हुन लागेको यो १०औं महाधिवेशनले राष्ट्रिय युवा संघ नेपालको भावी दिशा तय गर्नेछ। नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने यो अवसरमा खेमराज शर्माको नाम उपमहासचिव पदका लागि सबैभन्दा बलियो दावेदारको रूपमा अगाडि आइरहेको छ।
संगठनका सबै तह पार गर्दै केन्द्रीय सचिवमा पुगिसकेका शर्मा अब उपमहासचिव पदमा आफ्नो सशक्त दाबी प्रस्तुत गरिरहेका छन्, र धेरैले उनलाई नेतृत्वको ‘नेचुरल चोइस’ का रूपमा हेरेका छन्।
दुर्गम गाउँबाट सुरु भएको एक युवकको राजनीतिक यात्रा अहिले राष्ट्रिय युवा संगठनको उच्च तहमा पुर्यिनु केवल व्यक्तिगत उपलब्धि होइन, संगठनको सामूहिक प्रतिबद्धता र मूल्यको पनि प्रतिबिम्ब हो। खेमराज शर्माको उम्मेदवारीले १०औं महाधिवेशनलाई गम्भीर र अर्थपूर्ण बनाइरहेको छ।
अबको नेतृत्वले संगठनलाई कुन दिशातर्फ अघि बढाउने भन्ने निर्णयमा खेमराज शर्मा जस्ता अनुभवी, समर्पित र वैचारिक नेताहरूको उपस्थितिले गहिरो प्रभाव पार्ने विश्वास गरिएको छ।