मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

फागुन २१ को चुनाव : म्यादी प्रहरीको संख्या बढाउन तयारी तीव्र

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र म्यादी प्रहरीको संख्यालाई यकिन गर्न सम्बद्ध निकायहरू तयारीमा जुटेका छन्। यसअघि गरिएको पूर्वानुमानभन्दा धेरै नयाँ मतदाता थपिएपछि म्यादी प्रहरी संख्या बढाउने आवश्यकता देखिएको छ।

गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेले नयाँ मतदाता संख्या आधार मानेर एकीकृत सुरक्षा योजना कार्यान्वयन हुँदै गएकाले म्यादी प्रहरीको भर्ना प्रक्रिया नेपाल प्रहरीले छिट्टै सुरू गर्ने जानकारी दिए।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा एआईजी अबिनारायण काफ्लेले निर्वाचन आयोगले मतदान केन्द्र अन्तिम रूप दिएपछि सुरक्षा संवेदनशीलताको मूल्यांकन गर्दै जिल्ला सुरक्षा समितिबाट म्यादी प्रहरी भर्ना प्रक्रिया सुरु हुने बताए।

चुनाव अवधिभर करिब ४० दिन खटिने म्यादी प्रहरीले प्रहरी जवानसरह आधारभूत तलब, लत्ताकपडा, यातायात खर्चलगायत सुविधा प्राप्त गर्नेछन्। नेपाल प्रहरीले यसपटक ७१ हजारभन्दा बढी स्थायी प्रहरी खटाउने तयारी गरेको प्रवक्ता काफ्लेले जानकारी दिए।

२०७९ सालको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता रहेका थिए। त्यतिबेला देशभर १० हजार ८९२ मतदान स्थल, २२ हजार २२७ मतदान केन्द्र तथा १४१ अस्थायी मतदान केन्द्र तोकिएका थिए।
यसपालि करिब ८ लाख नयाँ मतदाता थपिएका छन्, जसका आधारमा मतदान केन्द्र र म्यादी प्रहरी संख्या दुवै बढ्न सक्ने अनुमान गरिएको छ।