इरानका नयाँ सर्वोच्च नेता खामेनी गम्भीर घाईते भएको खुलासा

एजेन्सी/इरानका नयाँ सर्वोच्च नेता मोज्तबा खामेनी युद्धको पहिलो दिनमै अमेरिका र इजरायलको संयुक्त हमलामा परी गम्भीर घाइते भएको खुलासा भएको छ।

रोयटर्सका अनुसार, गत फेब्रुअरी २८ मा आफ्ना पिता अली खामेनी मारिएको सोही आक्रमणमा ५६ वर्षीय मोज्तबाको अनुहार र खुट्टामा गम्भीर चोट लागेको हो।

सर्वोच्च नेता चयन भएको लामो समयसम्म सार्वजनिक रूपमा नदेखिनुको कारण उनको स्वास्थ्य अवस्था रहेको स्रोतहरूले जनाएका छन्। केही गुप्तचर निकायले उनले एउटा खुट्टा समेत गुमाएको हुन सक्ने दाबी गरेका छन्। यद्यपि, उनी मानसिक रूपमा सक्षम रहेको र अडियो कन्फरेन्समार्फत शासन सञ्चालन तथा अमेरिकासँगको वार्ता प्रक्रियामा संलग्न रहेको बताइएको छ।

इरानको सरकारी टेलिभिजनले उनलाई ‘जनबाज’ (युद्धमा घाइते योद्धा) को रूपमा चित्रण गरे पनि चोटको विस्तृत विवरण गोप्य राखेको छ।

वर्तमानमा, वरिष्ठ अधिकारीहरूको मृत्यु र मोज्तबाको अस्वस्थताका कारण मोहम्मद बागेर गालिबाफ इरानको सबैभन्दा शक्तिशाली अधिकारीका रूपमा उदाएका छन्। गालिबाफ नेतृत्वको टोली अहिले अमेरिकासँगको ऐतिहासिक वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामावाद आइपुगेको छ।

विश्लेषकहरूका अनुसार मोज्तबाको अनुपस्थितिले इरानी सत्ताको निर्णय प्रक्रियामा चुनौती थपेको छ भने सामाजिक सञ्जालमा उनको अवस्थालाई लिएर व्यापक अड्कलबाजी भइरहेको छ।