काठमाडौं – नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टीविरुद्ध विदेशी शक्तिहरू सक्रिय रहेको भनाइप्रति प्रश्न उठाउँदै स्पष्टता मागेकी छन्।
ललितपुरमा जारी एमाले केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि धारणा राख्दै तिम्सेनाले सोधिन् – “अध्यक्षज्यूले भन्नुभएको जस्तो एमालेविरुद्ध लागेका ती विदेशी शक्ति वास्तवमा को–को हुन्? के हामी तिनको नामसहित किटान गर्न सक्छौं?”
उनले ओलीको ‘जेन–जी आन्दोलनमा विदेशी घुसपैठ र प्रतिक्रान्तिको षड्यन्त्र’ भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै थपेकी छन् – “के कुनै दूतावासका अधिकारीहरूलाई बोलाएर प्रत्यक्ष कुरा गर्न सकिन्छ? प्रमाणसहित कुरा गर्न सकिँदैन भने यस्तो आरोपले पार्टीलाई झनै विवादमा पुर्याउँछ।”
तिम्सेनाले जेन–जी आन्दोलनका घटनाहरूमा भएको जनधनको क्षति र निर्दोष बालबालिकाको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै त्यसको नैतिक जिम्मेवारी को कसले लिने भन्ने प्रश्न पनि उठाइन्।
उनले भनिन्, “गोली चलाउने प्रहरी हवलदार जिम्मेवार हुन्छ कि प्रहरी प्रमुख आईजीपी? वा त्यो तत्कालीन राजनीतिक नेतृत्वले लिनुपर्ने नैतिक जिम्मेवारी हो, कमरेड?”
साथै, उनले २०७९ सालको निर्वाचनपछि सुरु भएको ‘सक्किने कि सच्चिने?’ भन्ने बहसलाई स्मरण गर्दै भनिन्, “जेन–जी आन्दोलनपछि देश सक्किने सिमाना कहाँसम्म पुग्यो भन्ने प्रश्न अब जनतामाझ गम्भीर रूपमा उठेको छ।”
उनका अनुसार, यो आन्दोलनले एउटा कडा सन्देश दिएको छ — पार्टीका पुराना नेतृत्व र पुस्ताले अब बिदा लिने समय आएको छ, र त्यसलाई अनदेखा गरेर अघि बढ्न नसकिने अवस्था बनिसकेको छ।
नेकपा एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले केन्द्रीय समिति बैठकमा राखेका धारणा निम्नानुसार छन्:
१. विध्वंस, विनाश र वियोगान्त पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ । उसो भए अहिले असफल भएको चाहिँ को हो ? अस्ति भर्खर स-साना नानीहरूको कत्लेआम भयो । खर्बौँको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो ? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि प्रहरी आईजीपीलाई भागीदार बनाउने हो ? वा यसको नैतिक जिम्मेवार तत्कालको प्राधिकारको हुन्छ कमरेड ?
२. यतिखेर हामी कुन कन्स्पेरिसीको कुरा गरिरहेका छौँ ? कुन-कुन वैदेशिक निकायहरू हुन् नेकपा एमालेविरुद्ध लागेका ? के हामी तिनलाई किटान गर्न सक्छौँ ? के कुनै एम्बेसीका अधिकारीहरू बोलाएर कुरा गर्न सक्छौं ?
३. कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो । यो ११ वर्षमा भएका अभ्यासहरूले हामीलाई, वाम आन्दोलन र सिङ्गो कम्युनिस्ट आन्दोलनलाई कता पुर्यायो ? नेकपा गठन एउटा महत्त्वपूर्ण कडी थियो तर त्यसलाई हामीले कस्ता–कस्ता अभ्यास र कस्ता ध्वंशकारी अभ्यास गर्यौँ ? एकपल्ट सम्झिऊँ, नागरिकहरूमा निराशा त्यहीँबाट सुरु भएको हो । मास फ्रस्ट्रेसन छ र थियो, स्विकारौँ ।
४. एकपल्ट यो पनि सम्झिऊँ सूर्य चिह्नमा चुनाव को-को र कस्ता प्रतिगामीहरू उठे ? दुर्गा प्रसाईंजस्ता चरम अराजक, प्रतिगामीलाई कसले माला लगाएर पार्टीमा भित्र्यायो ? तिनको जिम्मेवारी कसले लिने हो ? प्रसाईंलाई भित्राउँदै गर्दा को-को कमरेडहरूको राजनीतिक जीवनको कत्लेआम गरियो, त्यसकाबारे यहाँ कसैले-कसैलाई जवाफ दिनु पर्दैन ? आत्मालोचना गर्नु पर्दैन ?
५. २०७९ को निर्वाचन पछाडि सक्किने की सच्चिने भन्ने बहस चर्चामा थियो । आज अस्तिको भदौ २३/२४ पछाडि देश सक्किनेको सीमा कहाँसम्म हो भन्ने प्रश्न खडा भएको छ । यो जेनजी आन्दोलनको एउटा जबरजस्त माग पार्टीका टेस्टेड नेतृत्व र पुस्ताले बिदा लेउ भन्ने नै हो । त्यसलाई अनदेखा गर्न अब सकिन्न ।
६. हरेक समयमा देशको एउटा कार्यभार हुन्छ । आजको नेपाली राजनीतिको मुख्य कार्यभार दलहरूको पुनर्गठन हो । त्यसका लागि एमालेको पुनर्गठन महत्त्वपूर्ण छ । कांग्रेसमा त्यो सुरु भइसक्यो । अब अध्यक्षले राजीनामा गरेर मुलुकको राजनीतिक गतिरोधको ढोका खोल्नुपर्छ । यही संरचना लिएर चुनाव वा आन्दोलनमा जानै सकिँदैन । यहाँले बिदा लिएर अभिभावक बन्ने बित्तिकै देशभर सकारात्मक सन्देश जानेछ ।
७. देशमा बरबादी छ, काम चलाऊ सरकार छ । संविधान सङ्कटमा छ। छिटोभन्दा छिटो संविधानलाई बाटोमा ल्याउनु छ । त्यसैले अब संसद्को पुनर्स्थापना होइन, निर्वाचनमा जानु पर्छ । यो समाजका अधिकांश स्टेकहोल्डरहरुले संसद् पुनर्स्थापना हुन पर्छ भनेर भनेको छैन, अत: हामी चुनावमा केन्द्रित हुन आवश्यक छ। तत्कालै नयाँ नयाँ नेतृत्वमा हामी चुनावमा गयौँ एमाले खरानी टकटक्याएर बौरिने छ।
८. अन्यथा नलिनु होला– मिनबहादुर गुरुङको सम्पत्ती माथि हमला भयो, क्षति भयो, त्यसैले सहयोग नस्विकार्ने निर्णय गरौँ ।
९. कमरेडहरु, राष्ट्र र पार्टीको जीवनमा एउटा महादु:स्वप्न (बिग नाइटमेयर) थियो भदौ २४ । त्यसबाट पनि हामीले चेतेनौँ भने इतिहासले हामीलाई धिक्कार्नेछ । एक जना व्यक्तिको महत्त्वाकाङ्क्षाका लागि सिङ्गो पार्टीको विकाश र प्रगति अवरुद्ध पार्न हुँदैन। एमालेजस्तो लामो र गौरवपूर्ण इतिहास भएको पार्टी प्रतिक्रियात्मक हुन मिल्दैन । यो सङ्गठन जति जिम्मेवार र गम्भीर हुन्छ, आगामी राजनीति त्यस्तै हुन्छ । म जिम्मेवार निर्णय लिन नेतृत्वलाई विनम्रतापूर्वक आग्रह र अनुरोध गर्दछु ।