काठमाण्डौ – बीपी राजमार्गमा रातको समयमा गाडी चलाउन नपाउने व्यवस्था भदौ १५ गतेसम्मका लागि थप भएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेले यस अघि साउन महिनाभरको लागि रातको समयमा गाडी चलाउन रोक लगाएकोमा आज सूचना निकालेर भदौ १५ गतेसम्म राति गाडी चलाउन नपाउने जानकारी गराएको हो ।
जिल्ला सुरक्षा समिति काभ्रेको आज सम्पन्न बैठकले भदौ १ गतेदेखि १५ सम्म बेलुका ५ देखि बिहान ५ बजेसम्म राजमार्गमा यात्रुवाहक तथा निजी गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । काभ्रेभन्ज्याङदेखि सिन्धुलीको खुर्कोट खण्डका विभिन्न ठाउँमा जोखिम भएकाले गाडी चलाउन रोक लगाइएको प्रशासन कार्यालयले जनाएको छ ।
