मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राष्ट्रिय परिचयपत्र लिएका नागरिकका लागि अनलाइनमार्फत मतदाता नामावली दर्ता खुला

सरकारले राष्ट्रिय परिचयपत्र (National ID) लिएका नेपाली नागरिकका लागि अनलाइन प्रणालीमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्न सक्ने व्यवस्था गरेको छ। निर्वाचन आयोगले आज (बिहीबार) देखि लागू हुनेगरी उक्त व्यवस्था सुरु गरेको हो।

अब राष्ट्रिय परिचयपत्र लिएका नागरिकले घरमै बसेरै अनलाइन फारम भरेर मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्ने भएका छन्।

निर्वाचन आयोगका कार्यबाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार अध्ययन वा रोजगारीका लागि विदेशमा रहेका नेपालीले पनि अनलाइन फारम भर्न सक्नेछन्। उनले भने, “विदेशमा रहेका नेपालीका लागि कूटनीतिक नियोग र अन्य संयन्त्रमार्फत नाम दर्ता प्रक्रिया सहज बनाउन व्यवस्था गरिएको छ। उनीहरूले अनलाइन फारम भरेपछि नेशनल आइडी कार्डमा रहेको बायोमेट्रिक विवरणसँग दाँजेर दर्ता प्रक्रिया पूरा हुनेछ।”

उनका अनुसार अनलाइन फारम भरेपछि सम्बन्धित नागरिकको विवरण स्वतः मतदाता नामावलीमा समावेश हुनेछ।

सरकारले आगामी ३० कात्तिकसम्म मतदाता नामावली दर्ताको समय सीमा तोकेको छ। तर, दर्ता गराउनेहरूको ठूलो संख्याका कारण धेरैको विवरण छुट्ने आशंका भएपछि सरकारले अनलाइन दर्ता प्रणालीको व्यवस्था गरेको हो।