जेन–जी आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी रकम २३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। गत भदौ २३ र २४ गते देशभर भएका तोडफोड, लुटपाट र आगजनीका घटनाबाट भएको भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम हिजोसम्ममा सबै निर्जीवन बीमा कम्पनीमा गरी झन्डै २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीमा गरी कुल ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन्। तीमध्ये अग्रिम भुक्तानीसहित हालसम्म झन्डै १ अर्ब २९ करोड १९ लाख रुपैयाँ भुक्तानी भइसकेको छ।
क्षतिको विस्तृत अध्ययनका लागि २ हजार ७ सय ६ जना सर्भेयर खटाइएकोमा हालसम्म ३ सय ७४ वटा सर्भे प्रतिवेदन बुझिएका छन्।
यसअघि सरकारले पनि प्रारम्भिक क्षति मूल्यांकन सार्वजनिक गरेको थियो। सो अनुसार जेन–जी आन्दोलनका क्रममा देशभर झन्डै १ खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङका अनुसार ती क्षतिमा मात्रै सार्वजनिक सम्पत्तिको अन्दाजी १ खर्ब रुपैयाँ बराबरको नोक्सानी भएको छ।
