मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

राप्रपामा अनुशासन तोड्ने आठ नेताविरुद्ध कारबाही प्रक्रिया सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी हित विपरीत गतिविधि गरेको आरोपमा थप आठ जना नेताविरुद्ध स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अघि बढाएको छ। काठमाडौं र सुर्खेतमा भएका घटनालाई आधार बनाएर उनीहरूमाथि अनुशासन तोडेको भन्दै कारबाही प्रक्रिया अघि बढाइएको हो।

काठमाडौंमा आयोजित राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा हुलदंगा गरेको आरोपमा केन्द्रीय सहायक प्रवक्ता प्रविण थोकर तामाङ, काठमाडौं जिल्ला अध्यक्ष नवराज सिम्खडा, काठमाडौं–४ का अध्यक्ष रिद्धिप्रताप राणा र असन्तुष्ट पक्षले जिल्ला अध्यक्ष बनाएका ज्योति लामालाई स्पष्टीकरण सोधिएको छ। २८ साउनमा अधिवेशन स्थलमा पार्टीसँग असम्बन्धित व्यक्तिहरू ल्याएर हो–हल्ला गराएको भन्दै उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइएको राप्रपा सचिवालयले जनाएको छ।

लिङ्देन निकट नेताहरूका अनुसार, “अधिवेशन भाँड्न बाहिरका मान्छे ल्याइए, कार्यक्रममा अवरोध पुर्‍याइयो र अधिवेशन स्थगित भएपछि समितिको घोषणा गरियो।” सो घटनामा संलग्न चारै नेताले स्पष्टीकरण दिएको र अब अनुशासन समितिले कारबाही गर्ने तयारी गरेको जनाइएको छ।

त्यसैगरी, सुर्खेतको केन्द्रीय कार्यालय तालाबन्दी गर्न उक्साएको आरोपमा केन्द्रीय सदस्य जनक सिंह, भिमबहादुर शाही, युवा संगठनका प्रेम बिसी र लक्ष्मी कुमारी सार्कीलाई समेत कारबाही प्रक्रिया अघि बढाइएको छ। अध्यक्ष लिङ्देनले पदमुक्त गरेका उपाध्यक्ष मुकुन्दश्याम गिरी निकट नेताहरूले तालाबन्दी गराएको दाबी गरिएको छ।

लक्ष्मी कुमारी सार्कीले अनधिकृत रुपमा कार्यसमितिको बैठक बोलाएको आरोपसमेत छ।

राप्रपा सचिवालयका अनुसार रोशन कार्की नेतृत्वको अनुशासन समितिले सोधिएका सबै स्पष्टीकरण प्राप्त गरिसकेको छ र कारबाही प्रक्रिया अघि बढाउँदै छ।