मौसम

×

विनिमय

×

राशिफल

×

सुन चाँदी

×

युनिकोड

×

मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनामाथि भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशसभा सदस्य सरोजकुमार सिंहसहित १६ जनाविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगको टोलीले महोत्तरी क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई मुद्दा दर्ता गर्नु अघि नै पक्राउ गरेको हो।

मुद्दा दर्ता गरिएका अन्य व्यक्तिहरूमा रमेश मडर, अमलेश कुमारी, दीपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भूपेन्द्रकुमार झा, मञ्जुदेवी पासमान, रामनाथ सहनी, स्वीकृति देवी, रामशरण खत्वे, बिभादेवी खत्वे, शम्भुकुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुनाप्रसाद महतो र कौशिल्या देवी रहेका छन्।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सांसद सिंहले सांसद विकास कोषबाट आवंटित रकममा अनियमितता गरेको प्रमाण भेटिएको छ। उनले उपभोक्ता समितिहरू मार्फत सञ्चालन हुने आयोजनामा १२ देखि ४० प्रतिशतसम्म कमिसन लिएर आफ्नो खातामा राखेको पाइएको हो।

अनुसन्धानका क्रममा सिंहले विभिन्न उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल १ करोड ३६ लाख २७ हजार ४ सय ८१ रुपैयाँ मध्ये ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ घुसका रूपमा लिएर आफ्नो र श्रीमतीको संयुक्त खातामा राखेको पाइएको अख्तियारले जनाएको छ।

त्यस्तै, केही रकम सिंहका स्वकीय सचिव विनोदकुमार लाल कायस्थको खातामा समेत जम्मा गरिएको पुष्टि भएको छ।

आयोगले मुद्दामा बिगो असुलीका साथै कानुनअनुसार थप सजायको माग गरेको छ।