काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले कानून बनाउन नदिनका लागि प्रतिपक्ष दलहरूले संसद् अवरोध गरेको बताउनुभएको छ ।
आज काठमाण्डाैमा युवा सङ्घको स्वयंसेवक भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा शान्ति चाहिएको भन्दै उपद्रो गर्ने छुट कसैलाई नरहेको बताउनुभयो । कर्मचारीलाई निकालेकाेबारे प्रधानमन्त्रीले संसद्मा जवाफ नदिए संसद् चल्न नदिने कुरा राम्रो नभएको उहाँले उल्लेख गर्नुभयाे । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई नियुक्ति गर्नु नै आफ्नो जवाफ भएको ओलीकाे भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कर्मचारीलाई निकालेकाेबारे प्रधानमन्त्रीले संसद्मा आएर जवाफ दिनुपर्याे रे । जवाफ दिइसक्यो प्रधानमन्त्रीले । एउटालाई हटायो, अर्कोलाई नियुक्त गर्याे । सिद्धियो । यसमा पनि फेरि मोर्चाबन्दी ? कसैले भनेकाे कर्मचारी राखिदिनुपर्ने ? सरकारलाई असहयोग गर्ने, देशलाई अफ्ठ्यारोमा पार्ने ।’
प्रधानमन्त्री ओलीले नेकपा (माओवादी केन्द्र) प्रति लक्षित गर्दै कुलमान घिसिङलाई हटाउनु पार्टीका लागि ठूलो घाटा भएकाले छाती पिटीपिटी रोएको टिप्पणी गर्नुभयाे ।
