पेरुमा नयाँ पेन्सन कानून र बढ्दो भ्रष्टाचारविरुद्ध आन्दोलन चर्किँदै गएको छ। राजधानी लिमा शहरमा हिजो आयोजित सरकारविरोधी प्रदर्शनका क्रममा सयौँ प्रदर्शनकारी र सुरक्षाकर्मीबीच तीव्र झडप भएको समाचार संस्था एएफपीले जनाएको छ।
प्रदर्शनकारीहरूले ढुङ्गा र लठ्ठी प्रहार गर्दा प्रहरीले भीड नियन्त्रणमा अश्रुग्यास प्रयोग गरेको थियो। ‘जेनेरेसन जेड’ नामक युवाहरूको समूहले आयोजना गरेको यो प्रदर्शन हाल देशभर फैलिँदो संगठित अपराध, सार्वजनिक पदमा देखिएको भ्रष्टाचार र हालै पारित गरिएको पेन्सन सुधारसम्बन्धी कानूनको विरोधमा गरिएको हो।
स्थानीय रेडियो एक्सितोसा का अनुसार झडपका क्रममा संस्थाका पत्रकार र क्यामेराम्यान पनि सुरक्षाकर्मीको छर्राबाट घाइते भएका छन्। यस्तै, प्रहरी प्रशासनका अनुसार कम्तीमा तीन जना प्रहरी जवान समेत घाइते भएका छन्।
अहिले राष्ट्रपति डिना बोलुआर्टेको लोकप्रियता निरन्तर घट्दो क्रममा छ। जबरजस्ती असुली र आपराधिक गतिविधि बढेसँगै नागरिकमा सरकारप्रति असन्तुष्टि बढिरहेको देखिन्छ। विभिन्न सर्वेक्षणले पनि संसद् र सरकारप्रति जनविश्वास कमजोर बन्दै गएको देखाएका छन्।
यसै हप्ता संसद्ले पारित गरेको नयाँ पेन्सन कानूनअनुसार युवा वर्गलाई निजी पेन्सन कोषमा अनिवार्य रूपमा आबद्ध गरिने व्यवस्था गरिएको छ। तर अस्थिर रोजगारीको अवस्थाबीच यस्तो व्यवस्था अन्यायपूर्ण भएको भन्दै व्यापक आलोचना भइरहेको छ।
